पारा राष्ट्रिय खेलकुद

निशान र चन्द्रमा विजयी

काठमाडौं । निशान थापा र चन्द्रमा थापा क्षेत्री मंगलबार पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचा पुड्कातर्फ विजयी भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरंग रंगशालामा सम्पन्न प्रतियोगितामा पुरुष दुई सय मिटरतर्फ निशान र महिला एक सय मिटरतर्फ चन्द्रमा पहिलो भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल पारा एथलेटिक्स संघको तत्वावधानमा भएको प्रतियोगिताको बहिरा क्षेत्रतर्फ महिला दुई सय मिटर दौडमा जयन्ती विष्ट र पुरुषतर्फ अजय कर्णले प्रथम स्थान हासिल गरे । पुरुष चार सय मिटर दौडमा अजय र महिलातफ हीरामाया पहिलो भए ।

यस्तै, प्रतियोगितामा भएको ह्विलचेयरतर्फ पुरुष एक सय मिटर दौडमा विराट भट्ट र महिलातर्फ नरकुमारी कार्र्कीले पहिलो स्थान हासिल गरे । ह्विलचेयरकै पुरुषतर्फ ज्याभ्लिन थ्रोमा श्यामबहादुर रावल र सोही स्पर्धाको महिलातर्फ बिमला खनाल पहिलो भए ।

आंशिक दृष्टिविहीनको पुरुष दुई सय मिटर दौडमा दयाराम नारायण चौधरी र महिलातर्फ सरिता घिमिरे पहिलो भए । पूर्ण दृष्टिविहीनको पुरुष दुई सय मिटर दौडमा सन्तोष साउद र महिलामा सुनिता नेपालीले पहिलो स्थान हासिल गरे ।

विभिन्न विधाका सम्पूर्ण विजेताले समान एक हजार, उपविजेताले सात सय र तेस्रो हुनेले पाँच सय रुपैंया प्राप्त गरे । १२ स्पर्धामा प्रतिस्पर्धा भएको प्रतियोगितामा ७४ खेलाडी सहभागी थिए । पारा राष्ट्रिय खेलकुदअन्तर्गत पारा एथलेटिक्ससहित ११ खेल सम्पन्न भइसकेको छ ।