यु १९ महिला क्रिकेट टिम

नेपालका लागि राम्रो नतिजा लिएर आउँछौंः कप्तान कृतिका

काठमाडौं । नेपाल यु १९ राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान कृतिका मरासिनीले राम्रो नतिजा निकाल्दै विश्वकपमा छनोट हुने विश्वास व्यक्त गरेकी छिन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार गरेको बिदाई कार्यक्रममा बाेल्दै कृतिकाले  तयारी राम्रो भएकोले राम्रो नतिजा आउनेमा विश्वस्त रहेको बताइन् । क्यानले विश्वकप छनोटका लागि मलेसिया जाने टिमलाई एक कार्यक्रमका बीच बिदाई गरेकाे थियो ।

‘नेपालको लागि राम्रो रिजल्ट लिएर आउनेमा आशावादी छौं। राम्रो खेल्नेछौं,’ १८ वर्षीय  दाँयाहाते ब्याटर कृतिकाले भनिन् ।

क्यानले यसअघि नै विश्वकप छनोटका लागि १४ खेलाडी छनोट गरेको थियो । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको छनोटका लागि नेपाली टिम मलेसिया प्रस्थान गर्दैछ ।

खेलाडी तथा अफिसियललाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबहाक सचिव प्रशान्तविक्रम मल्ल र कोषाध्यक्ष रोशन कुमार सिंह लगायतले विदाई गरे ।

छनोटमा नेपालसँगै मलेसिया, यूएई, थाइल्यान्ड, भुटान, र कतारको सहभागीता रहेको छ । १५ खेल सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ ।

छनोटमा नेपालले पहिलो खेल ३ जुनमा कतारविरुद्ध खेल्नेछ । यस्तै दोस्रो खेल ४ जुनमा यूएईसँग रहेको छ ।

भुटानविरुद्ध ६ जुनमा खेल्दा  बलियो टोली थाइल्यान्डविरुद्ध  नेपालले ७ जुनमा प्रतिस्पर्धा गर्नेछ । यस्तै अन्तिम खेलमा मलेसियाविरुद्ध ९ जुनमा नेपाल मैदान उत्रने  छ ।

नेपाली टिमका प्रशिक्षक महेश रिजाल एक महिना देखि टिम तयारीमा रहेको र तालिकाको अग्रस्थानमा रहेर नेपाल फर्कने बताए ।

‘एक महिना देखि बन्द्र प्रशिक्षणमा आएका छौं । आवश्यक तयारी गरेका छौं ।  हाम्रो लक्ष्य अग्रस्थानमा रहने हो ।’ 

नेपाली टिम:

कृतिका मरासिनी (कप्तान), स्नेहा महरा, शृष्टि जैसी, मनिषा उपाध्याय, मनिषा रानामगर, अन्जली विक अलिषा यादव, साना प्रविन, रन्जु श्रेष्ठ, आस्मा पुलामीमगर, सानु राजवंशी, किरण कुँवर, अनु कडायत, सुस्मिता भुषाल