नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुद असोज-कात्तिकमा

काठमाडौं । यसै महिना हुने तय भएको नवौं राष्ट्रिय खेलकुद असोज अन्तिममा हुने भएको छ । युवा तथा खेलकुद मन्त्रायलयमा मंगलबार पत्रकार सम्मेलन आयेजना गर्दै यसै महिनाको २२ देखि २८ गतेसम्म हुने भनिएको नवौं असोजसम्म सारिएको जानकारी दिइएको छ ।

राखेपको प्रस्तावमा आजको मन्त्री परिषद् बैठकले नयाँ मिति असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गर्ने निर्णय गरेको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले फास्ट ट्रयाकबाट गर्ने भनिए पनि कानुनी प्रकिृया र सार्वजनिक खरिद ऐनअनुरूप जेठमा गर्न अड्चन भएकाले सार्नु परेको बताए ।
 

नवौं राष्ट्रिय खेलकुदमा ६० करोड नबढाएर खर्च गर्न अर्थ मन्त्रालयले पनि निर्देशन दिइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

कोभिड १९ महामारीका कारण दुई वर्ष ढिलो भइसकेको नवौं राष्ट्रिय खेलुकद जेठ २२ गतेदेखि २८ गतेसम्म गण्डकीको पोखरामा हुने तय भइसकेको थियो ।

तर, प्रतियोगिता सुरु हुन केही दिन मात्रै बाँकी रहँदा कुनै पनि कमिटी बनिनसकेको र टेन्डर आह्वानका लागि आवश्यक ३५ दिनको समयसीमा पनि नपुग्ने भएकाले प्रतियोगिता सर्ने करिब निश्चित थियो ।

नवौं राष्ट्रिय खेलकुदका लागि यसअघि नै लोगो, मस्कट र नारासमेत सार्वजनिक भइसकेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ३८ खेलमा प्रतिस्पर्धा गराउनेसमेत तय गरिसकेको थियो ।