एन्फा चुनाव

एन्फा चुनाव: सदस्य पदमा गुरुङले दर्ता गराए उम्मेदवारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुने निर्वाचनमा सदस्य पदका लागि हाम्रो फुटबल नेपालका अध्यक्ष कृष्ण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार करिब १ सय ५० जना समर्थकको जुलुस लिएर गुरुङ उम्मेदवारी दर्ता गर्न सातदोबाटोस्थित एन्फा मुख्यालय पुगेका थिए ।

हाम्रो फुटबल नेपालका हजारौं सदस्यहरूको दबाबका कारण फुटबल प्रेमीको प्रतिनिधिको रुपमा आफूले उम्मेदवारी दिएको उनले बताए ।

‘मेरो उम्मेदवारी दर्ता गराउने कुनै मनसाय थिएन, तर दर्शकको कुरा एन्फा समक्ष पुर्याउन तपाईँ माध्यम बन्नुपर्छ भनेर दबाब आयो,’ उनले भने, ‘त्यसैले समग्र दर्शकहरूको तर्फबाट मेरो उम्मेदवारी हो ।’

‘नेपाली फुटबल बचाउनका लागि मेरो उम्मेदवारी’ लेखिएको ब्यानरसहित एन्फा पुगेका गुरुङका समर्थकले ‘प्ले कार्ड’ प्रदर्शन पनि गरका थिए ।