स्पेन

राष्ट्रिय टोलीमा रामोसलाई बोलाइने

काठमाडौं । स्पेनका नयाँ प्रशिक्षक लुइस डे ला फुइन्टेले पूर्व कप्तान तथा रक्षक सर्जियो रामोसको लागि राष्ट्रिय टोलीको ढोका खुल्ला भएको बताएका छन् । उनले भनेका छन्,‘रामोसको लागि सबै अवसर छ ।’

पेरिस सेन्ट जर्मेन (पिएसजी) का रक्षक रामोसले स्पेनबाट सर्वाधिक एक सय ८० क्याप जितेका छन् । उनि सन् २०१० को विश्वकप जित्दाको प्रमुख खेलाडी समेत हुन् । यसैगरी स्पेनले सन् २००८ र २०१२ को युरोपियन च्याम्पियनसिप ट्रफी उचाल्दा रामोस मुख्य खेलाडी थिए ।

३६ वर्षीय अनुभवी रक्षक रामोसले यस सिजन पिएसजीका लागि २७ क्याप खेलिसकेका छन् । यद्यपि रामोस २०२१ मार्च यता स्पेनको टोलीमा छैनन् । मार्चमा कोसोभालाई ३–१ ले हराउँदा रामोस टोलीमा थिए ।

रामोसले सन् २०२० मो युरो र सन् २०२२ को फिफा विश्वकप गुमाएका थिए । फुइन्टेले युरो छनोट २०२४ अन्तर्गत मार्चमा हुने नर्वेविरुद्धको खेलमा रामोसको लागि ढोका खुल्ला रहेको बताएका हुन् ।

‘अरु खेलाडीझै रामोसलाई समेत टोलीमा आउन ढोका खुल्ला छ,’ फुइन्टेले भनेका छन् । ‘हामीले हरेक पोजिसनमा ६ या सात खेलाडी राख्छौं । यसरी ७०–८० खेलाडी प्रारम्भिक छनोटमा बोलाइन्छ । जसले राम्रो गर्छ । त्यो नै टोलीको खेलाडी हुनेछ ।’

लुइस इन्रिके विश्वकपको अन्तिम १६ मा मोरेक्कोसँग पराजित भएपछि राजिनामा दिएका थिए । यसपछि ६१ वर्षीय फुइन्टेलाई नियुक्त गरिएको थियो ।