एसी मिलान

मिलानमा परिवर्तन आवश्यक छः पियोली

मिलान । लगातार ६ खेलमा जीत हासिल गर्न नसकेपछि एसी मिलानका  प्रशिक्षक  स्टेफानो पियोलीले टाेलीमा परिवर्तन आवश्यक रहेको स्विकारेका छन् । 

सिरी ए अन्तर्गत  आइतबार राति  भएको खेलमा  घरेलु मैदानमै १६ औं स्थानको सासोउलोसँग ५-२ ले पराजित भएपछि प्रशिक्षक पियोलीमाथि दबाब थपिएको छ । 

मिलानले सिरी एमा लगातार दुई खेलमा चार वा सोभन्दा बढी खाएको यो पहिलो पटक हो । यसअघि उसले लाजियोसँग ४-० को हार ब्यहोरेको थियो । 
 भर्खरै मात्र सुपरकोपा इटालियामा सहरी प्रतिद्धन्द्धी इन्टर मिलानसँग ३-० ले हारेको मिलान सन् २०१९ पछि लगातार तीन खेलमा पराजित भएको यो पहिलो पटक हो । 

‘मैले आज धेरै कुरा सोचिरहेको छु । पछिल्ला दुई वर्षमा उपयोगी भएका निर्णय अहिले काम लागेका छैनन्,’ पियोलीले भने, ‘हामीलाई अब परिवर्तनको आवश्यक छ । म अब केही निर्णयहरु लिनेछु जसले टिमको उर्जा फेरी बढ्नेछ ।’