यु १५ राष्ट्रिय महिला फुटबल टिम छनोट

बंगलादेशविरुद्ध नेपालले कुनै परिवर्तन नगर्ने

काठमाडौं । जारी साफ यु १५ महिला च्याम्पियनसिपमा आज (शनिबार) नेपालले आयोजक बंगलादेशको सामना गर्दैछ । ढाकामा नेपाल र बंगलादेशबीचको खेल सवा ४ बजे सुरु हुनेछ ।

प्रतियोगिताको दोस्रो खेलमा प्रशिक्षक भगवती रानामगरले भुटानविरुद्ध खेलकै सेटलाई मैदान उतार्ने निर्णय लिएकी छिन् । पहिलो खेलमा नेपालले भुटानविरुद्ध ७–० को जित निकालेको थियो । नेपालको जितमा वर्षा ओलीले चार गोल गरेकी थिइन् । बंगलादेशले भने भुटानलाई ८–०ले पराजित गरेको थियो ।

जारी साफको दोस्रो खेलमा दुबै टोली जित यात्रालाई निरन्तरता दिन चाहन्छन् । तीन टोली सहभागी प्रतियोगिताको डबल राउण्ड रोबिन पद्धतिमा आयोजना हुँदैछ । शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

बंगलादेश ३ अंक जोडेर शीर्ष स्थान छ भने नेपाल समान खेल र अंक भएपनि गोलअन्तरको आधारमा दोस्रो स्थानमा छ । भुटान अंक विहीन रहदै पुछारमा रहेको छ ।

नेपाली टोलीः

गोलकिपरः सुजता तामाङ

रक्षकः सिता रोकाया, विपना स्नेही, अमिता भुल,  सिम्रन राई

मिडफिल्डरः सुशिला केसी, रेबिका नेपाली, सुक्रिया मिया

स्ट्राइकरः समिक्षा मगर, दिपा रोकाया (कप्तान), वर्षा ओली