पुरुष फुटबल

पुरुष फुटबलमा लुम्बिनीमाथि आर्मीको सजिलो जित

पोखरा । आर्मीले लुम्बिनी प्रदेशलाई आर्मीले ४–१ गोल अन्तरले पराजित गर्यो । लामाचौरस्थित लामाचौर खेल मैदान गोस्तेघाटमा भएको खेलमा आर्मीका लागि दिनेश हेमजनले पहिलो गोल गरे ।

उनले खेलको १५ औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाए । दोस्रो गोल भने आर्मीले उपहार प्राप्त गर्यो । दिपसन ठकरीको अत्मघाती गोलबाट आर्मीले अग्रता दोब्बर बनायो ।

जर्जप्रिन्स कार्कीले ४७ औं मिनेटमा आर्मीका लागि अर्को गोल थप्दै लुम्बिनीमाथि दबाब बनायो ।

लुम्बिनीले ५० औं मिनेटमा चेतन थारुको गोलबाट खेलमा फर्किने प्रयास गरेको थियो । तर थपिएको दुई मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई फराकिलो जितको हकदार बनाए ।
अर्को खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ५–३ गोलले हरायो ।

प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा कर्णाली सम्हालिन नसक्दा हार व्यहोर्न पुग्यो । ३८ औं मिनेटमा कर्णालीका करण रावतले आत्मघाती गोल गरेपछि सुदूरपश्चिम १–० को अग्रतामा रह्यो । पहिलो हाफमा १–० ले रोकिएको खेलको दोस्रो हाफमा कुल ७ गोल भयो । खेलको ५८ औं मिनेटमा ज्ञानेन्द्र जोशीले गोल गर्दै सुदूरपश्चिमको अग्रता दोब्बर पारे ।

खेलको ६२ औं मिनेटमा कर्णालीका विकेश सन्तोषीले गोल गर्दै २–१ को स्थितिमा खेल पुर्याए । ७७ औं मिनेटमा कुवेर सिंहले गोल गर्दै ३–१ बनाएपछि कर्णाली दबाबमा परेको थियो । ८४ औं मिनेटमा कर्णलीका विकेशले व्यक्तिगत दोस्रो गोल गर्दै ३–२ को स्थितिमा पुर्याउँदै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर त्यसको २ मिनेट पश्चात अर्थात ८६ औं मिनेटमा सुदूरका शसांक बोहोराले गोल गर्दै अन्तर फराकिलो बनाए ।

खेलको ९४ औं मिनेटमा दिरेन्द्र शाहले गोल गर्दै जित निश्चित गराए । त्यसको १ मिनेट पनि वित्न नपाउँदै कर्णालीका विकेशले पेनाल्टिमा गोल गर्दै ह्याट्रिक पुरा गरेपनि जितका लागि पर्याप्त रहेन । उनले खेलको ९५ औं मिनेटमा ह्याट्रिक पुरा गरे ।

प्रतियोगिता अन्तर्गत शनिबार २ खेल हुनेछन् । समूह बी अन्तर्गत मधेश प्रदेश र शसस्त्र प्रहरी बलको एपिएफ क्लबबीच पहिलो तथा समूह ए अन्तरगत प्रदेश नं. १ र गण्डकी प्रदेशबीच दोस्रो खेल हुनेछन् ।