नेइमार नायक बन्दा ब्राजिल विजयी

रियो दी जेनेरियो, (खेलाडी)- पेरिस सेन्ट जर्मन (पिएसजी) का स्टार नेइमारले एक गोल आफै गर्नुका साथै अर्को गोललाई अवसर सिर्जना गरेपछि ब्राजिलले शुक्रबार बिहान विश्वकप छनोटको खेलमा पेरुमाथि २-० को जित हासिल गरेको छ ।

नेइमारको पासमा एभर्टन रिबेइरोले गोल गर्दै १५औं मिनेटमा ब्राजिललाई अग्रता दिलाएका थिए । मध्यान्तर हुन पाँच मिनेट बाँकी रहँदा नेइमारले आफै गोल गरेर टोलीको जित पक्का गरे । 

अर्को वर्ष कतारमा हुने विश्वकपको छनोटअन्तर्गत शुक्रबारै लियोनेल मेसीको अर्जेन्टिनाले बोलिभियालाई ३-० को नतिजामा हरायो ।

अर्जेन्टिनाको जितमा सबै तीन गोल गरेका मेसी दक्षिण अमेरिकी फुटबलको इतिहासमै सबभन्दा बढि अन्तर्राष्टिय गोल गर्ने खेलाडी बनेका छन् । 

बिहीबार ७८ र ७९औं अन्तर्राष्ट्रिय गोल गरेपछि मेसी पेलेको नाममा रहेको ७७ गोलको पुरानो कीर्तिमान तोड्न सफल भए । 

बोलिभियाविरुद्ध १४औं मिनेटमा पहिलो गोल गरेपछि ३४ वर्षे मेसीले पेलेको कीर्तिमानसँग बराबरी गरेका थिए । ६४औं मिनेटमा अर्को गोल गर्दै पेलेलाई उछिनेका मेसीले समय सकिन दुई मिनेट बाँकी रहँदा व्यक्तिगत ह्याटिक पूरा गरेका थिए । 

यसैगरी छनोटअन्तर्गतका अन्य खेलमा पाराग्वेले भेनेजुएलालाई २-१ को नतिजामा हराउँदा उरुग्वेले इक्वेडरमाथि १-० को विजयी नतिजा निकाल्यो । त्यस्तै कोलम्बियाले चिलीमाथि ३-१ को जित निकाल्यो ।

शुक्रबार विहानका नतिजापछि आठ खेलसम्म सतप्रतिसत नतिजा यात्रालाई निरन्तरता दिएको ब्राजिल २४ अंकका साथ दक्षिण अमेरिकी छनोट तालिकाको शीर्ष स्थानमा रहँदा १८ अंकका साथ अर्जेन्टिना दोस्रो स्थानमा छ । 

यसैगरी नौं खेलमा १५ अंक जोडेको उरुग्वे तेस्रो स्थानमा रहँदा इक्वेडर १३ अंकका साथ चौथो, र समान १३ अंक जोडेको कोलम्बिया पाँचौं स्थानमा छ । पाराग्वे (११) छैटौं, पेरु (८) सातौं, चिली (७) आठौं, बोलिभिया (६) नवौं तथा भेनेजुएला (४) १०औं स्थानमा छन् ।