मिसन ‘सी’ डिभिजन : अमरसिंहको लक्ष्य कायम छ

काठमाडौं, (खेलाडी)- बलियो इच्छाशक्ति, कडा मेहनत र लगनशिलता नै सफलताको पहिलो सर्त हो । यो कुरा अमरसिंह युवा क्लबका पदाधिकारीलाई राम्रोसँग थाहा छ । त्यसैले त मुलपानीको यो क्लबका पदाधिकारीहरु लक्ष्य प्राप्तिका लागि निरन्तर खटिरहेका छन् ।

अमरसिंह काठमाडौंको उत्तर पूर्वी बस्तीमा रहेको कागेश्वरी मनोहनाको क्लब हो । मुलपानी पाटरको चौरमा स्थानीय युवाहरु शनिबार र सार्वजनिक विदाका दिन समय व्यतित गर्नुका साथै मनोरञ्जनका लागि खेल्नेक्रममा परिकल्पना गरिएको क्लब हो ।

विदाको दिन फुटबल खेल्न मैदानमा जम्मा हुने युवाहरुमध्येबाट २०६९ बैशाखमा सुरज थापाको नेतृत्वमा क्लब आधिकारिक रुपमा दर्ता भयो, तत्कालिन मुलपानी गाविस वडा नम्बर एकमा । त्यहीबाट औपचारिक रुपमा अमरसिंह युवा क्लबले काम थालेको हो । 

सुरज र भक्त थापालगायतका युवाहरुले मुलपानीमा फुटबलको बढ्दो मोह देखेर नै क्लब स्थापना गरेका थिए । सुरुका दिनमा क्लबले थली, साँखु, नैकाप र पेप्सीकोला टाउनप्लानिङमा हुने स्थानीय प्रतियोगिताहरुमा भाग लियो । त्यसका लागि स्थानीय खेलाडीको टोली बनेको थियो । उनीहरु सोमतिर्थ मैदानमा बिहान र बेलुका गरि दिनको दुई पटक अभ्यास गर्थे । स्थानीयहरुकै आर्थिक सहयोगमा क्लबले प्रशिक्षणका लागि आवश्यक खेल सामाग्री र खेलाडीका लागि ‘डाइट’को व्यवस्था मिलाएका थिए ।

 

२०६५ सम्म अन्तर गाविस कप फुटबल प्रतियोगिता खेल्न साविकको मुलपानी गाविसले आफ्नो नौ वटै वडाबाट खुला रुपमा खेलाडी छनोट गर्दथ्यो । 
 
त्यही प्रतियोगिताका लागि छनोट भएका खेलाडीहरुबीच एक दिन अखिल नेपाल फुटबल संघको अधिकारिक प्रतियोगिता खेल्ने सोच बन्यो । त्यसको पहिलो खुड्किलो थियो । ‘सी’ डिभिजन लिग छनोट प्रतियोगिता । ती युवाहरुको एन्फाको आधिकारिक प्रतियोगिता खेल्ने योजना झन्डै तीन वर्षसम्म योजनामै सिमित बन्यो । 

‘नियमित प्रशिक्षण गर्दै स्थानीय तहका विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाइरहेका हुन्थ्यौं । एन्फाले एक दिन राष्ट्रिय दैनिकमा ‘सी’ डिभिजन लिग छनोटको सुचना निकालेको थियो । मैले बेलुका प्रशिक्षणको समयमा सबै साथीहरुलाई त्यसबारे सुनाएँ । हामी पनि खेलौं भनेर प्रस्ताव राखेँ । सबैले त्यसमा सहमती जनाए,’ अमरसिंह क्लबका संस्थापक अध्यक्ष सुरजले भने,  ‘हामीसँग क्षमतावान खेलाडी थिए । इच्छाशक्ति पनि बलियो थियो । तर हाम्रो लक्ष्यमा आर्थिक अभाव मुख्य चुनौती थियो । तर हामीले घर नजिकै रहेका केही संघ सस्था, विद्यालय र घरबाटै पनि पैसा जुटाएर ‘सी’ डिभिजन छनोट प्रतियोगिता खेल्ने निधो गर्यौ ।’

२०७० मा अमरसिंहले युवा क्लबले पहिलो पटक ‘सी’ डिभजन छनोट खेलेको थियो । तर पहिलो खेलमै पराजित भएपछि पहिलो प्रयास पहिलो पाइलामै टुंगियो । 

त्यो असफलताले युवाहरुमा फुटबल मोह नघटोस् भनेर क्लबले आफै प्रतियोगिता गर्ने अग्रसरता देखायो । फुटबलको निरन्तरताका लागि क्लब आफैले गाविस, स्थानीय व्यापारी, संघ सस्था, विद्यालय र स्थानीय व्यक्तिहरुको सहयोगमा रकम जुटाएर अमरसिंह कप सेभेन ‘ए’ साइड फुटबल आयोजना गर्ने निर्णय गर्यो । 

३० हजार रुपैयाँ नगद राशीबाट सुरु भएको प्रतियोगिता आठौं संस्करणसम्म आइपुग्दा पुरस्कार राशी नगद १ लाख रुपैयाँ पुगिसकेको छ । प्रतियोगिता आयोजना गर्नुको मुख्य उदेश्य नै क्लबको ‘सी’ डिभिजनमा छनोट हुने लक्ष्य अलपत्र नपरोस् भन्ने थियो ।

‘सी’ डिभिजन लिगसँगै व्यावसायिकक फुटबलमा पाइला टेक्ने तयारीमा रहेको अमरसिंह क्लबको यो वर्ष शहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा पाँचौ सहभागिता हो । यसअघि खेलेका चारमध्ये दुई संस्करणमा टोली सेमिफाइनलसम्म पुगेको थियो । क्लबको प्रयास त्यहाँ भन्दा अघि बढ्न सकेको छैन ।

‘हामीले जुन उदेश्यका साथ क्लब खोलेका थियौं । त्यो अझै कायमै छ,’ क्लबका वर्तमान अध्यक्ष पुस्कर थापा भन्छन्, ‘‘सी’ डिभिजन छनोटमा लगातार यो क्लबको पाँचौं सहभागिता हो । यसपटक लिग कम नकआउटका आधारमा प्रतियोगिता खेलाइँदै छ । सबै क्लबले एउटा समूहमा दुई खेल खेल्न पाउछन् । शीर्ष टोली अघिल्लो चरण प्रवेश गर्नेछ । हाम्रो पहिलो लक्ष्य भनेको आफ्नो समूहको शीर्ष स्थानमा बस्दै अघिल्लो चरण गुग्ने नै हो । त्यसका लागि खेलाडीहरु पनि उत्साही छन् ।’ 

क्लबमा अहिले १८ जना खेलाडी छन् । धेरैजसो मुलपानी आसपासकै छन् । काठमाडौ बाहिरका ४/५ जना खेलाडी क्लबमा अनुबन्धित छन् । उनीहरुलाई आवासको सुविधासमेत मिलाइएको छ । क्लबले अझै केही नयाँ खेलाडी थप्ने तयारी गरिरहेको छ । 

पुष्करले यस पटक ‘सी’ डिभिजन छनोटको क्लब तथा खेलाडी दर्ता र उनीहरुको बिमा रकमकका कारण आर्थिक भार परेको बताए । त्यसकारण अध्यक्ष पुष्करले क्लबमा मुख्य प्रायोजकको खोजी भइरहेको बताए । 

‘हामीले व्यक्तिगत तथा क्लबका शुभचिन्तकहरुबाट संकलित रकमले खेलाडीलाई नियमित अभ्यास गराइरहेका छौं । थोरै भए पनि उनीहरुलाई नियमित पारिश्रमिकको व्यवस्था मिलाएका छौं,’ अध्यक्ष पुष्करले भने, ‘यो हाम्रो मात्र क्लब होइन । यसले समग्र कागेश्वरी मनोहरा नरपालिकाकै प्रतिनिधित्व गरिहेको छ । त्यसैले हामीले नगपालिकासँग पनि आर्थिक सहयोग मागेका छौं । नगरपालिका पनि हाम्रो प्रस्ताबमा सकारात्मक छ ।’