दशरथ रंगशालामा महिला टोलीको ‘डेब्यु’ 

काठमाडौं, (खेलाडी)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज घरेलु मैदान दशरथ रंगशालामा बङ्लादेशविरुद्ध पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । 

साँझ ५ः३० बजेबाट सुरु हुने खेलमा दर्शकको उपस्थिती रहने एन्फाले जनाइसकेको छ । 

नेपाली महिला टोलीले पहिलो पटक दशरथ रंगाशालामा खेल्न लागेको हो । नेपाली महिला टोलीले घरेलु मैदानमा धेरै अन्तर्राष्ट्रिय फुटबल खेले पनि हालसम्म दशरथ रंगशालामा भने खेलेको थिएन् । 

त्यस्तै नेपाली महिला टोलीले पहिलो पटक विदेशी प्रशिक्षकको प्रशिक्षणमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । नेपाली टोलीको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्स छन् । 

नेपाल र बंगलादेशबिच हालसम्म ६ खेल भएको छ र  बंगलादेशविरुद्ध नेपाली टोलीले हालसम्म पराजय बेहोरेको छैन् । ६ खेलमध्ये ५ खेलमा नेपालले जित हात पार्दा एक खेल भने बराबरीमा सकिएको थियो । 

एएफसी महिला एसियन कप २०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेलको शृंखला खेल्न लागेको हो । बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्नेछ । 

उज्वेकिस्तानमा हुने छनोट प्रतियोगितामा नेपालले समूह ‘एफ’ मा फिलिपिन्स र हङकङसँग प्रतिस्पर्धा गर्नेछ । 

पहिलो खेलमा नेपालले असोज २ गते फिलिपिन्सविरुद्ध खेल्नेछ । दोस्रो खेलमा नेपालले असोज ५ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ । 

छनोटमा समुहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्षको जनवरी २० देखी ६ फेब्रुअरीसम्म भारतमा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ ।