नेपाली फुटबल

यु १७ साफ च्याम्पियनसिप उपविजेता टिमलाई प्राइम सेरामिकको सम्मान

काठमाडौं । श्रीलंकामा सम्पन्न यु १७ साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली यु १७ टिमलाई आज (बिहीबार) प्राइम सेरामिकले सम्मान गरेको छ ।

करिव दुई हप्ताअघि सम्पन्न प्रतियोगिताको फाइनलमा भारतसँग ४-० ले पराजित भएपछि नेपालले उपविजेतामा चित्त बुझाएको थियो ।

नेपाली टिमका २३ खेलाडी र ६ अफिसियललाई जनही पाँच हजार रुपैयाँसहित सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले उपविजेता बने पनि सम्बन्धित निकायले खेलाडीको हौसला बढाउन चासो नदेखाएको बेला सेरामिकले गरेको सम्मानबाट मनोबल बढेको बताए ।

‘कसैले सम्मान गरेनन् । एएफसी क्वालिफायर्स खेल्न जाने बेलामा उनी हामीलाई बधाई दिन आए । यसले आगामी प्रतियोगिताका लागि नेपाली टिमलाई अझ राम्रो गर्न मौका मिलेको छ,' श्रेष्ठले भने, ‘भविष्यमा पनि यो सहकार्यलाई निरन्तरता दिन सकिने छ भन्नेमा आशावादी छौं । हामी एसिया कपमा आफूलाई प्रमाणित गर्न चाहन्छौं । हामीले राम्रो गर्न सक्यौं भने तारिफको योग्य हुनेछौं ।’

प्राइम सेरामिकका सिइओ प्रशान्त अग्रवालले आगामी दिनमा पनि खेलाडीहरुको मनोबल बढाउन यसप्रकारका सम्मान कार्यक्रम राख्ने बताए ।

‘युवा र क्षमतावान खेलाडी छन् । सबैलाई बधाई दिन चाहन्छु । समयमै पहिचान गर्न सकिएन । हामी यो यात्राको एक भाग बन्न चाहन्छौं । प्रतियोगिताबाट नेपाल फर्किएपछि केही समस्या भएमा हामीलाई भन्न सक्नुहुन्छ,' अग्रवालले भने, ‘हामी यो सहकार्यलाई जारी राख्न सक्छौं । अरु ठूलो सहयोग गर्न समय भएन । प्रतियोगिताबाट फर्किएपछि पुनः भेट्नेछौं । हामी सहयोग गर्न चाहन्छौं । यसका लागि व्यक्तिगत रुपमा कुराकानी गर्न चाहन्छौं ।’

यस्तै, राष्ट्रिय टिमका पूर्व खेलाडी तथा नेपाल प्रशिक्षक संघका महासचिव राजेश शाहीले खेलाडीहरुलाई आफ्नो क्षमता प्रमाणित गर्न सुभकामना दिए ।

‘सकारात्मक सोच हुनुपर्छ । विपक्षी कस्तो छ भन्ने पर्वाह नगरी र सबैलाई हराउन सक्छौं भन्ने मनोबलसहित खेल्न पर्छ । हामीले टिमको प्रदर्शन हेरिसकेका छौं । यसैकारण टिममा क्षमतावान खेलाडी छन् भन्ने हामीलाई थाहा छ,' शाहीले भने, ‘यदी प्रतिभाशाली नभएको भए हामी प्रशंसा गर्ने थिएनौं । आफ्नो क्षमतालाई प्रमाणित गर । उर्जनले खेलाडीको रुपमा आफूलाई प्रमाणित गरिसकेको छ । र, अब प्रशिक्षकको रुपमा प्रमाणित गर्ने अवसर छ । यसका लागि टिमको सहयोग आवश्यक पर्छ । प्रशिक्षक र देशका लागि खेल ।’

यस्तै, कप्तान प्रशान्त लक्षमले सहयोगका लागि प्राइम सेरामिकका सिइओ प्रशान्त अग्रवाललाई धन्यवाद दिए ।

‘सम्मान कार्यक्रमका लागि धन्यवाद दिन चाहन्छु । हामीले श्रीलंकाबाट धेरै कुराहरु सिक्यौं । त्यो अनुभवले आगामी दिनमा पनि सहयोग पूर्याउनेमा विश्वस्त छु । अग्रवाल सरलाई धेरै धेरै धन्यवाद,’ प्रशान्तले भने ।