पिएसजी

बार्सिलोनामाथि छानविन गर्न पिएसजी अध्यक्षको माग

पेरिस । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का अध्यक्ष नासेर अल खेलैफीले बार्सिलोनाको आर्थिक कोष निमार्ण गर्ने तरिका अनुचित भएको भन्दै युइएफएलाई छानविन गर्न आग्रह गरेका छन् ।

चर्को ऋण र ला लिगाको आर्थिक नियमनका कारण खेलाडी दर्ता र पारिश्रमिकका लागि संघर्ष गरिरहे पनि बार्सिलोनाले यस सिजन ठूलो रकम खर्च गरी तीन खेलाडी भित्र्याएको थियो ।

यस सिजन रोवर्ट लेवान्डोवस्की, जुलेस कोउन्डे र राफिन्हालाई मोटो रकम खर्च गरी भित्र्याएको बार्सिलोनाले फ्रि ट्रान्सफरमा पनि केही खेलाडीलाई ल्याएको थियो ।

बार्सिलोनाले खेलाडी अनुबन्धको रकम जुटाउनका लागि २५ प्रतिशत भविष्यको ला लिगा मिडिया अधिकारको २५ प्रतिशत र ‘इन हाउस प्रोडक्सन कम्पनी’ बार्सा स्टूडियोको ४९ प्रतिशत सेयर बेचेको थियो ।

बार्सिलोनाका अध्यक्ष जोआन लार्पोटाले यसबाट क्लबको आर्थिक स्थिती सुधार हुने जनाए पनि लिग वान च्याम्पियनका अध्यक्ष खेलैफीले भने यसको छानविन गर्न माग गरे ।

‘यो उचित छ ? पक्कै पनि यो उचित छैन । मलाई यो वैधानिक छ छैन थाहा छैन । यदी उनीहरुलाई यसको अनुमति दिने हो अन्य क्लबले पनि यस्तै गर्नेछन्,’ खेलैफीले भने, ‘युइएफएको आफ्नै नियम छ । र, उनीहरुले यससम्बन्धमा आगामी कदम उठाउनेमा म विश्वस्त छु ।’