साफ महिला च्याम्पियनसिप

साफ महिला च्याम्पियनसिपः ऐतिहासिक जितसँगै भुटान सेमिफाइनलमा

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा ऐतिहासिक जित निकाल्दै भुटानी महिला टिम समूह ‘बी’ बाट एक खेल बाँकी रहदै सेमिफाइनलमा प्रवेश गरेको छ । महिला साफ च्याम्पियनसिपको इतिहासमा पहिलो जित निकाल्नेक्रममा शुक्रबार भुटानले श्रीलंकालाई ५–० ले पराजित गर्यो ।

सन् २०१० मा भएको साफ महिला च्याम्पियनसिपको पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको भुटानले प्रतियोगिताको १६औं खेलमा जित निकाल्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ऐतिहासिक जित दिलाउन देकी ल्हाजोमले दुई गोल गर्दा छिरिङ लादेन, नाम्गेल देमा र गले वाङ्माेले समान एक गोल थपे ।

खेलको ४२औं मिनेटमा नाम्गेल देमा गोल गर्दै भुटानलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा १–० को अग्रता बनाएको भुटानले दोस्रो हाफमा चार गोल थप्दै ५–० को जित पक्का गर्यो ।

खेलको ५१औं मिनेटमा देकी ल्हाजोमले भुटानको अग्रतालाई दोब्बर पारिन् ।

भुटानले ६४औं मिनेटमा अग्रतालाई दोब्बर पार्यो । श्रीलंकन रक्षक दिलुक्सनले पेनाल्टी क्षेत्रभित्र देकी ल्हाजोमलाई नै फाउल गरेपछि भुटानले पेनाल्टी पाएको थियो । जसलाई देकीले नै सदुपयोग गरिन् । 

खेलको ८५औं मिनेटमा गले वाङ्माेले गोल गर्दै भुटानको अग्रतालाई ४–० मा पूर्याइन् ।

यस्तै, खेल सकिन एक मिनेट बाँकी रहँदा छिरिङले नै गोल गरेपछि भुटानले ५–० को जित निश्चित गर्यो ।

श्रीलंकामाथि फराकिलो जित निकालेसँगै समूह ‘बी’ बाट भुटान एक खेल अगावै सेमिफाइनल पुगेको छ । समूहअन्तर्गत यसअघि भएको पहिलो खेलमा नेपालले भुटानलाई ४–० ले पराजित गरेको थियो ।

समूहको अन्तिम खेलमा नेपालले सोमबार श्रीलंकासँग खेल्दैछ ।