टेबल टेनिस

जयराम र राजेन्द्रलाई अन्तर वडा टेबलटेनिसको उपाधि

काठमाडौं । जयराम महर्जन र राजेन्द्र बज्रचार्य दोस्रो पूर्णशंकर राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको विजेता भएका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ४० वर्षमाथिको फाइनलमा कीर्तिपुर नगरपालिका वडा–६ का जयरामले ललितपुर वडा-१६ का राजु शाक्यलाई १४-१२, ११-९, ११-४ को सोझो सेटमा पराजित गरे ।

काठमाडौं महानगरपालिका वडा २५ का रन्जित मल्ल र काठमाडौं दुईका उमेश मानन्धरले कांस्य पदक जिते ।

स्पिन इभेन्ट्स प्राइभेट लिमिटेडद्वारा आयोजित प्रतियोगिताको ५० वर्षमाथिको फाइनलमा राजेन्द्रले बूढानीलकण्ठ नगरपालिका वडा एकका कपुर शर्मा पौडेललाई ११-९, १३-११, ९-११, ११-८ को सेटमा हराए ।

सोही स्पर्धामा ललितपुर १६ का प्रकाश धाख्वा र ललितपुर ११ का नदिमरत्न शाक्यले कांस्य पदक जिते ।

पाँच विधामा प्रतिस्पर्धा भएको प्रतियोगिताको पुरुष र महिला एकलतर्फको फाइनल शनिबार हुनेछ । पुरुष एकलतर्फ लम्जुङ १९ का विनेश खनियाँ र ललितपुर १६ का संयोग कपालीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 
महिला एकलतर्फ संखुवासभा वडा ४ की वियंका राई र ललितपुर १२ की इभाना थापा मगर फाइनलमा भिड्नेछन् ।