साफ महिला च्याम्पियनसिप

यो भुटानको लागि खुसीको समय होः प्रशिक्षक हङ

काठमाडौं । महिला फुटबलमा ऐतिहासिक जित निकालेपछि भुटानी टिमका मुख्य प्रशिक्षक क्युङ सुक हङले यो भुटानको लािग खुसीको समय भएको बताएकी छन् ।

प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा भुटानले श्रीलंकमाथि ५–० ले पराजित गर्यो । यो भुटानी महिला फुटबल टिमको पहिलो अन्तर्राष्ट्रिय जित थियो । भुटानले अन्तर्राष्ट्रिय खेलमा क्लिन सिट राखेको समेत यो पहिलो पटक हो ।

खेलपछि बोल्दै भुटानका प्रशिक्षक क्युङ सुक हङले पहिलो खेलमा वर्षाका कारण प्रदर्शन राम्रो हुन नसके पनि दोस्रो खेलमा टोलीले उत्कृष्ट प्रदर्शन गरेको समेत बताइन् ।

‘हामीले हाम्रो उत्कृष्ट गर्यौं । टिमले निकै राम्रो प्रदर्शन गर्यो । हामीले यसका लागि धेरै मेहेनत गरेका थियौ । पहिलो खेलमा हामीले वर्षाका कारण राम्रो खेल्न सकेनौं,’ हङले भनिन्, ‘तर, आज श्रीलंकालाई दबाबमा राख्दै जित निकाल्न सफल भयौं । पहिलो खेलको तुलनामा हामीले आज निकै राम्रो गर्यौं । यो भुटानका लागि खुसीको समय हो । आउँदा खेलमा आजको भन्दा पनि राम्रो गर्ने प्रयासमा रहने छौं । यो साफ च्याम्पियनसिपमा भुटानको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो । हामी यो जितको लयलाई कायम राख्न चाहन्छौं ।’

खेलको प्लेयर अफ दी म्याच चुनिएकी सुनिता राईले मैदानमा समर्थकले देखाएको साथप्रति कृतज्ञता व्यक्त गरे ।

‘मलाई खेलको प्लेयर अफ दी म्याचको चुनिएकोमा धन्यवाद एक टिमको रुपमा हामीले राम्रो खेल्यौं । दोस्रो खेलमा मैले निकै राम्रो अनुभव गरे । म खेलका दौरान साथ दिएकोमा भुटानी र नेपाली समर्थकलाई धन्यवाद दिन चाहन्छु । भुटानी टिमले पहिलो अन्तर्राष्ट्रिय जित निकाल्दा निकै खुसी छु ।’

यता, श्रीलंका प्रशिक्षक चामिन्डा निल स्टेनवलले टिमले धेरै गल्ति गर्दा गोल पनि धेरै बेहोरेको बताए ।

‘उनीहरुले राम्रो फुटबल खेले । तर, धेरै गल्ति गर्यौं । यसैकारण गोल पनि धेरै बेहोर्न पुग्यौं । केही खेलाडीहरुले आशाअनुरुपको प्रदर्शन गर्न सकेनन् । आउँदा हामीले एक टिमको रुपमा खेल्न आवश्यक छ । केही खेलाडीहरुमा अन्तर्राष्ट्रिय खेलको अनुभव कमी देखियो । तर अनुभव भएकाले राम्रो खेले । भुटानको प्रदर्शन राम्रो रह्यो ।’