कर्मा छिरिङ शेर्पा

काँग्रेसको समानुपातिक सांसदमा शेर्पाको नाम सिफारिस

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई नेपाली काँग्रेसले आगामी मंसिर चारमा हुने संघीय निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेको छ ।

काठमाडौं क्षेत्र नम्बर चारबाट नेपाली काँग्रेसका पुराना नेता शेर्पाको नाम दुई नम्बरमा सिफारिस भएको हो । पाँच वर्षअघिको निर्वाचनमा पनि नेपाली काँग्रेसले शेर्पाको नाम समानुपातिकको सुचीमा समावेश गरेको थियो ।

नेपाल विद्यार्थी संघ (नेबिसंघ)बाट राजनीतिक यात्रा थालेका शेर्पाले पार्टीको विभिन्न भूमिकामा रहेर जिम्मेवारी निर्वाह गरिसकेका छन् । नेविसंघ तथा तरुण दलमा केन्द्रिय सदस्य भएर काम गरिसकेका शेर्पाले तरुण दलको केन्द्रिय कार्यालय सचिवको जिम्मेवारी पनि निर्वाह गरेका थिए । शेर्पा काँग्रेसको पूर्व महासमिति सदस्य हुन् ।

तरुण दलबाटै फुटबल प्रशासनमा प्रवेश गरेका शेर्पाले आफ्नै नेतृत्वमा हिमालयन शेर्पा क्लब स्थापना गरि नेपाली फुटबल संरचनाको शीर्ष स्तरमा पुर्याएका छन् । उनको क्लब अहिले नेपाली क्लब फुटबलको सबभन्दा माथिल्लो डिभिजनमा छ ।

एन्फामा उपाध्यक्ष तथा अध्यक्ष भएर दुई दशकभन्दा लामो समय काम गरेका उनले राष्ट्रिय खेलकुद परिषदमा पनि सदस्यका रुपमा एक कार्यकाल बिताएका थिए ।