साफ महिला च्याम्पियनसिप

नेपाललाई च्याम्पियन बनाउने मौका गुमाउँदिन: कुमार थापा

काठमाडौं । साफ महिला च्याम्पियनसिपका लागि ६ दिनमात्र बाँकी रहँदा नेपाली महिला टिमका मुख्य प्रशिक्षक कुमार थापाले यसपटक टिमले भारतको बाधा पन्छाउँदै उपाधि जित्ने दाबी गरेका छन् ।

थापाले टिममा नयाँ, पुरानो र पुनरागमन गरेका खेलाडीहरुबीच राम्रो तालमेल रहेको बताएका छन् ।

’प्रतियोगिताको लागि पाँच दिन बाँकी छ । मैले पाएको सात हप्ता हो । यस अवधिमा ५८ जनाबाट ३५, ३५ बाट ३३ र ३३ बाट २३ जना अन्तिम टिममा राखेका छौं । सन्तुष्ट छु । मौसम र ग्राउन्डको चुनौती छ । सकेसम्म टिम राम्रो बनाउनेतर्फ लागिरहेका छौं । तीन जनाले टिममा पुनरागमन गरेका छन् भने तीन नयाँ खेलाडी छन् । नयाँ पुराना खेलाडीको राम्रो तालमेल छ । पोजेटिभ छौं,’ थापाले भने ।

उनले भारतविना प्रतियोगिताको उपाधि जित्नु नुनविनाको तरकारी जस्तै हुने बताए ।

‘भारत निलम्बनमा पर्दा नेपाल च्याम्पियन हुन्छ भन्ने कतिलाई लागेको थियो । भारतविना साफको उपाधि जित्दा नुन हालेको तरकारी जस्तै हुन्छ । बेस्वाद र खल्लो । त्यो टेस्टलेस गेम खेलेर उपाधि राख्छौं भन्ने हाम्रो मानसिकता थिएन । कुन टिम आयो आएन भन्दा पनि साफका सातैवटा टिम आएका छन् । खुसी छौं ।’

थापाले महिला टिममा दोस्रो मौका पाएकाले यसलाई त्यसै नफाल्नेमा केन्द्रित रहेको बताए ।

‘राष्ट्रिय महिला टिमको प्रशिक्षणमा दोस्रो मौका पाएको छु । २०१६ मेरो प्रशिक्षणमा नेपाली टिम पहिलो पटक फाइनल पुग्न सकेको थिएन । भारत सेमिफाइनलमा आएपछि पराजित भयौं । त्यसमा म फेलियर नै हो । तर, दोस्रो मौका पाएको छु । यसलाई खेर फाल्दिन,’ थापा भन्छन् ।

‘फुटबलमा कम गल्ति गर्नेहरुले विजयी बन्छन् । मैले हाम्रो टिमलाई त्यस्तै बनाएको छु । हामीले भारतविरुद्धको खेलका लागि खेलाडीहरुलाई मानसिक रुपमा तयार राख्न कक्षाहरु पनि गराइरहेका छौं । हालसम्म महिला पुरुष दुवै टिमले साफ च्याम्पियनसिप जित्न सकेका छैनन् । हाम्रो लागि यो आकाशको फल भइसक्यो । त्यसैले यसपाली हामी यो अवस्था तोड्ने लक्ष्यमा छौं । महिला फुटबलमा संरचना नै छैन । विभागीय टिमको भर छ । तर, पनि यसपाली उपाधि घरमै राख्ने लक्ष्यमा छौं ।’

नेपाल सन् २०१९ मा भएको साफ महिला च्याम्पियनसिप र सोही वर्ष भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा भारतसँगै पराजित भएर उपाधि विमुख भएको थियो ।

साफ महिला फुटबल च्याम्पियनसिपको छैटौं संस्करणसम्म आइपुग्दा नेपाल पछिल्लो चार संस्करणमा उपविजेता र एक संस्करणमा सेमिफाइनलबाट बाहिरिएको थियो । यी सबै खेलमा भारतको चुनौती पन्छाउन नसक्दा नेपालले हार बेहोरेको थियो ।

महिला साफको आगामी संस्करण भदौ २१ गतेदेखि दशरथ रंगशालामा हुँदैछ । प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालसँगै भुटान र श्रीलंका छन् ।  

नेपालले भदौ २१ गते भुटान र २७ गते श्रीलंकाविरुद्ध खेल्ने तालिका छ ।