नेपाली फुटबल

राष्ट्रिय टिमको ट्रेनिङ सुरु, २७ खेलाडी उपस्थित

फाइल फोटो

काठमाडौं । असोज दोस्रो साता हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि आज (शुक्रबार) बाट प्रशिक्षण सुरु गरेको नेपाली राष्ट्रिय फुटबल टिममा पहिलो दिन २७ खेलाडी सहभागी भएका छन् ।

नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । यसैका लागि कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाँईले ४० खेलाडीलाई प्रारम्भिक चरणको प्रशिक्षणमा बोलाएका थिए । जसमध्ये पहिलो दिन २७ जना प्रशिक्षणमा सहभागी भए । भरत खवास प्रशिक्षणमा उपस्थित भए पनि स्वास्थ्यमा समस्याका कारण प्रशिक्षणमा सहभागी नभएको टिम स्रोत खेलाडीलाई बतायो ।

पहिलो दिन विशाल राई, रजिन धिमाल, दीप कार्की, किरण चेम्जोङ, रोहित चन्द, देवेन्द्र तामाङ, मनिष डांगी, आयुश घलान, सुनिल बल, सन्जोक राई, राजन गुरुङ, निशान्त खड्का र छिरिङ गुरुङ अनुपस्थित रहे ।

नियमित प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी तीन महिना विदामा रहेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षणको जिम्मेवारी हुमागाँईले सुम्पिएको हो । टिमको सहायक प्रशिक्षकमा युगलकिशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोल छन् ।

यसअघि अल्मुताइरीले निकालेका रोहित चन्द, किरण चेम्जोङ, अञ्जन बिष्टलगायतका खेलाडीलाई पनि प्रशिक्षणमा बोलाएका छन् ।