बोर्नियो कप इन्टरनेसनल

मलेसियामा नेपाललाई एक स्वर्ण र तीन रजत

क्वालालम्पुर । मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालले एक स्वर्ण र तीन रजत पदक जितेको छ । शुक्रबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपालकी रेखमाया गुरुङले स्वर्ण पदक जितेकी हुन् ।

उनले महिला ३० देखि ४० वर्ष उमेर समूहको पुम्सेमा स्वर्ण जितेकी हुन् । उनको समूहमा इन्डोनेसिया, मलेसिया, जापान, भियतनाम, ब्रुनाई, अस्ट्रेलिया र लाओसका ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणको प्रतिस्पर्धाबाट आठ जना खेलाडी फाइनल प्रतिस्पर्धाका लागि छनोट भएका थिए । फाइनलमा रेखमायाले ७.७७ अंक ल्याउँदै स्वर्ण जितेकी हुन् । दोस्रो स्थानमा रहेकी मलेसियाकी खेलाडीले ७.६५ र तेस्रो स्थान हात पारेका इन्डोनेसियाकी खेलाडीले ७.०५ तथा मलेसियाकी खेलाडीले ६.५९ अंक ल्याएको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं जुनियर राष्ट्रिय टिम तयारी उपसमितिका संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।

यसैगरी महिलाकै १८ देखि ३० वर्षको समूहमा सन्दीपा अमगाईंले रजत पदक जितिन् । उनको समूहमा पनि विभिन्न देशका ११ खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । ११ मध्ये फाइनल चरणका लागि आठ खेलाडी छनोट गरिएको थियो । मलेसियन खेलाडीले ८.०३ अंक ल्याउँदै स्वर्ण जित्दा सन्दीपाले ७.४० अंकका साथ रजत पदक पक्का गरेकी थिइन् । भियतनामकी खेलाडीले ६.५९ र मलेसियन खेलाडीले ६.०० अंक ल्याउँदै कांस्य पदक जितेका थिए ।

यही उमेर समूहको पुरुषतर्फ मोहमद उमर खानले पनि रजत पदक जिते । सात जनाले प्रतिस्पर्धा गरेको यस समूहमा फाइनल चरणमा पाँच खेलाडी छनोट भएका थिए । उनीहरुमध्ये मलेसियाका खेलाडीले ७.७७ अंकका साथ स्वर्ण जिते । खानले ७.४९ अंक ल्याएका थिए । तेस्रो स्थान हात पारेका मलेसियन खेलाडीले ७.३९ र ७.२३ अंक ल्याएका थिए ।

यसैगरी पुरुषको ४० देखि ५० वर्ष उमेर समूहमा रोशन खानले पनि रजत पदक पक्का गरेका थिए । सात जना सहभागी यस समूहमा फाइनल चरणका लागि पाँच खेलाडी छनोट गरिएको थियो । फाइनलमा रोशनले ५.०७ अंक ल्याउँदै रजत पदक पक्का गरेका हुन् । ६.०५ अंक ल्याएका मलेसियन खेलाडीले स्वर्ण जित्दा ५.०५ अंक जोडेका इन्डोनेसिया र ५.०३ अंक ल्याएका मलेसियाका खेलाडीले कांस्य पदक जिते ।

च्याम्पियनसिपमा शनिबारदेखि ग्योरोगी सुरु हुने तेक्वान्दो संघका केन्द्रीय सदस्य कुमार लामा घिसिङले जानकारी दिए । मलेसियापछि नेपाली खेलाडीले भियतनाममा हुने ११औं एसियन जुनियर तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने  छन् । जुनियर तेक्वान्दो च्याम्पियनसिप अगस्ट २५ देखि २७ तारिखसम्म आयोजना हुँदैछ ।