एन्फा

एन्फाको ‘सेतो हात्ती’

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले यसअघिका अध्यक्षले चढ्दै आएको गाडी ‘सेतो हात्ती’ बनेकाले लिलामीमा राखिएको बताएका छन् ।

असार ६ गते एन्फाको २१औं चुनावी साधारण सभाबाट निवार्चित भएका वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङले बा ८ च ६१७ नम्बरको टोयोटा फर्च्युनर नचढ्ने बताएका थिए ।

अध्यक्षले नचढ्ने घोषणा गरेपछि एन्फायो गाडी लिलामी राख्ने निर्णय गरेको महासचिव राईले बताए । फर्च्युनर एकदमै खर्चिलो भएकाले अध्यक्ष नेम्वाङले निजी गाडी चढ्ने र उक्त गाडीको लिलामीबाट आएको रकम खेलाडी अक्षय कोषमा राख्ने निर्णय गरेको महासचिव किरण राईले बताए ।

निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले चुनावको भोलिपल्ट बिहानै गाडी फिर्ता गरेका थिए।

गाडी फिर्ता गर्ने क्रममा निवर्तमान अध्यक्ष शेर्पाका स्वकीय सचिव अनन्त घिमिरे ।

‘एन्फा अध्यक्षले चढ्ने गरेको गाडीको खर्च निकै छ । हरेक महिना बनाइरहनु पर्ने भएकोले यसको महिनाको मर्मत खर्च नै एक लाख–डेढ लाख आउँछ । निवर्तमान अध्यक्षले प्रयोग गरेको हिसाबले हेर्ने हो भने तेलको मासिक खर्च पनि लाखौंमा छ,’ महासचिव राईले भने ।

‘बोली–चालीको भाषामा यो गाडी ‘सेतो हात्ती’ बनेको छ । यसैकारण अध्यक्षज्युले यो गाडी नचढ्ने निर्णय लिनु भएको हो । अध्यक्षले नचढ्ने भएपछि लिलामीमा राख्ने छौं ।’