फिफा विश्वकप

विश्वकप पूर्व घोषित मितिभन्दा अगाडि सर्ने!

दोहा । कतारमा हुन लागेको आसन्न फिफा विश्वकप निर्धारित मितिभन्दा एक दिन अगाडि हुन सक्ने रोएटर्सले बताएको छ । स्रोतलाई उदृत गर्दै रोएटर्सले भनेको छ, ‘फिफाको नेतृत्वले उद्घाटन समारोह र आयोजक देशको खेल आइतबार २० नोभेम्बरमा गर्न सहमति गरिसकेको छ ।’

फिफाले यसअघि जारी गरेको तालिकाअनुसार २१ नोभेम्बरबाट सुरु हुने विश्वकपको उद्घाटन खेलमा कतार र इक्वेडर भिड्ने तय भएको थियो । जसका कारण दुई खेल उद्घाटन समारोहअघि नै हुने तय थियो ।

सामान्यतया उद्घाटन समारोह प्रतियोगिताको पहिलो खेल सुरु हुनुअघि हुनेगर्छ । तर, यसअघि तय भएको तालिका अनुसार समूह ‘ए’को सेनेगल र नेदरल्यान्ड्सबीचको खेल र समूह ‘बी’अन्तर्गत इङ्ल्यान्ड र इरानबीचको खेल उद्घाटन समारोह अगाडि हुने तय थियो ।

यो निर्णय पारित हुनका लागि ६ वटा महादेशीय महासंघका प्रतिनिधि र फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भोट गर्नुपर्छ । तर, छोटो सूचनाका बाबजुद पनि यसको पक्षमा निर्णय हुने सम्भावना प्रवल रहेको रोएटर्सले दाबी गरेको छ ।