दीपा न्यौपाने

महिला फुटबलर दीपाले आई लिग छनोट खेल्ने

काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य मिडफिल्डर दीपा न्यौपानेले भारतीय आई लिग छनोट खेल्ने भएकी छिन् ।

नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी दीपा आइलिग छनोट खेल्ने आज (बुधबार) दिउसो साढे १ बजे त्यसतर्फ प्रस्थान गर्दैछिन् ।

दीपाले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीको प्रतिनिधित्व गर्नेछिन् । केरेला महिला लिगको च्याम्पियन आइलिगमा छनोट हुनेछ ।

‘प्रतियोगिता खेल्न पाउँदा निकै खुसी छु । यो मेरो विदेशमा पहिलो अवसर समेत हो,’ दीपाले भनिन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी सम्मिलित गोकुलम केरेला, केरेला ब्लास्टर, केरेला युनाईटेड जस्ता चर्चित क्लबको सहभागी हुने केरेला लिगमा डन बोस्को साविक उपविजेता हो ।

दीपाले सम्झौता एक वर्षको भएको र सम्झौता रकम भने खुलाउन नमिल्ने बताइन् । ‘प्रतियोगिताको लागि सम्झौता भएको हो । आइलिगमा छनोट भए, त्यसमा पनि अवसर मिल्ने कुरा भएको छ’ दीपाले भनिन् ।

आज अगस्ट १० बाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरेला र केरेला युनाइटेड भिड्ने छन् ।

डन बोस्कोले आफ्नो पहिलो खेलमा भोलि (बिहीबार) लड्स  पिआरविरुद्ध खेल्नेछ ।