इटालियन सिरी ए

एट्लेटिकोविरुद्धको हारले पाठ सिकायोःएलेग्री

मिलान । युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले स्पेनिस ला लिगाको क्लब एट्लेटिको मड्रिडसँगको ४-० को हारबाट आफ्नो टोलीले पाठ सिकेको र त्यो पाठ नयाँ सिजनका लागि आफूहरुलाई उपयोगी हुने प्रतिक्रिया दिएका छन् ।

प्रि-सिजनको अन्तिम खेलमा एट्लेटिकोको सहज जितमा अल्भारो मोराटाले ह्याट्रिक पूरा गर्दा म्याथ्युज कुन्हाले एक गोल गरे ।

‘एट्लेटिको मड्रिड पनि युरोपको एक बलियो टोली हो,’ एलेग्रीले भने, ‘उनीहरुका खेलाडीहरु क्षमतावान छन् । हाम्रो खेलाडीहरु थकित देखिए । यस खेलमा हामीले फराकिलो नतिजा सुम्पिए पनि हामीले ठूलो पाठ सिकेका छौ । हामीसँग नयाँ सिजनका लागि शारीरिक र मानसिक रुपमा फिट रहन मात्र एक साताको समय बाँकी छ । हामी नयाँ सिजनमा उत्कृष्ट प्रदर्शन गर्नेमा आशाबादी छौ । पछिल्लो दुई सिजन हामीले आफूलाई उपाधि दाबेदारको रुपमा उभ्याउन सकेका छैनौ । यस पटक विगतको च्याम्पियन छबी फर्काउने प्रयासमा छौ ।’

अगस्ट १५ मा सासौलोविरुद्धको खेलसँगै युभेन्टसले सिरी ‘ए’ को नयाँ सिजनको यात्रा थालनी गर्नेछ ।