एन्फा कार्यसमिति बैठक

पाँडेको बर्खास्तगीको विषयलाई एजेन्डामा समावेश गर्न माग

काठमडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) का उपाध्यक्ष विराटजंग शाही र दिपक खतिवडासहित आठ केन्द्रिय सदस्यले साउन २६ गते बस्ने एन्फाको दोस्रो कार्यसमिती बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नविन पाँडेको  बर्खास्तगीको विषयलाई  एजेन्डामा समावेश गर्न माग गरेका छन् ।

‘उपरोक्त सम्बन्धमा हामी यस अखिल नेपाल फुटबल संघको तपशिलमा उल्लेखित कार्यसमितीका सदस्यहरु अखिल नेपाल फुटबल संघको दं न.०६ मिति २०७९ साल श्रावण १३ गतेका दिन दर्ता भएको विदेश विभाग प्रमुख नविन पाँडेको बर्खास्तगी सम्बन्धमा रहेकोे निवेदन यही मिति २०७९ साल श्रावण २६ गतेका दिन बस्ने एन्फा कार्यसमितीको बैठकका लागि एजेन्डामा समावेश गरिदिनु हुन अनुरोध गर्दछौ,’एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई सम्बोधन गर्दै शुक्रबार बुझाइएको निवेदनमा उल्लेख गरिएको छ ।'

सो निवेदनमा उपाध्यक्ष शाही र खतिवडासहित केन्द्रिय समिती सदस्य महेन्द्र क्षेत्री, सरिला श्रेष्ठ, रमेश व्यञ्जनकार,पुरुषोत्तम थापा, रविन चन्द ठकुरी र विकास नारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

एन्फाले मंगलबार साउन २६ गते बिहीबार यसअघि स्थगित दोस्रो कार्यसमितीको बैठक बस्ने जनाएको थियो ।

यसअघि साउन २ गते बोलाइएको बैठक अध्यक्ष नेम्वाङ अस्वस्थ भएपछि स्थगित भएको थियो । तीन दिनपछि साउन ५ गते बोलाइएको अर्को बैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको थियो ।

लगातार दोस्रो पटक बैठक स्थगित भएपछि एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित कुल १२ सदस्यले पाँडेको बर्खास्तगीको माग राख्दै एन्फा महासचिव किरण राईलाई निवेदन बुझाएका थिए । गत साता मात्र रमेश व्यञ्जनकारले पनि पाँडेको बर्खास्गतीको माग राख्दै निवेदन गर्दा गराएका थिए । यससहित कार्यसमितीको निर्वाचित १९ मध्ये १३ सदस्य पाँडेको  बर्खास्तगीको पक्षमा खुलेका छन् । 

महासचिव राईले निवदेनको भरमा कुनै पनि माग कार्यमितीमा छलफल नहुने तर एजेन्डाको रुपमा आए भने छलफल हुने बताएका थिए । पाँडेको बर्खास्तगीको मागलाई एजेन्डामा समावेश गर्न माग गरिएपछि उनी नैतिक दबाबमा परेका छन् ।

एजेन्डाविना बोलाइएको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचनाको चौतर्फी घेराभित्र परेको एन्फा कार्यसमितिको अर्को बैठक बस्न सकेको छैन ।

असार ६ गते सम्पन्न चुनावी साधारणसभाले एक उपाध्यक्षसहित सात जना शेर्पा प्यानलका उम्मेदवारलाई चुन्यो । १३ खुल्ला सदस्यका लागि भएको निर्वाचनमा चार जनाको मत समान भएपछि विशेष साधारणसभा बोलाएर पुनः मतदान गराउन बाँकी नै छ । बाँकी १२ जना नेम्वाङ प्यानलबाट विजयी भएको मान्ने हो भने पनि त्यहाँ स्वयम अध्यक्ष अल्पमतमा छन् ।

सुशासनको नारालाई चर्को श्वरमा घन्काएर पंकजविक्रम नेम्वाङको समूहले एन्फाको ताल्चासाँचो हात पारेको थियो । विधि र विधान प्रधान हुने भने पनि नेम्वाङ नेतृत्वमा विधानअनुसार पहिल्यै एजेन्डा पठाएर र सदस्यहरुबाट आएको सुझाव समेत समेटेर गरिन लागेको यो बैठकको पहिलो प्रयास असफल भइसकेको छ ।

बैठकका लागि विभिन्न एजेन्डा तय भए पनि तेस्रो प्रयासमा २६ गते पनि छलफल भने भागबण्डामै केन्द्रित हुने पक्का छ । प्रमूख कार्यकारी अधिकृत (सिइओ), तीन सह महासचिव, प्रवक्ता र विभिन्न मानार्थ पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा सहमति नजुटेपछि पछिल्ला दुई पटक बैठक स्थगित भएको थियो ।

चुनावमा जाँदा बनेको आफू नेतृत्वकै समूहमा फुट आइसकेका कारण अध्यक्ष नेम्वाङ चौतर्फी दबाबमा छन् । चुनावमा बनेको मोर्चाका सबैले नियुक्तिहरुमा भाग खोजिरहेको अवस्थामा आफ्नै पनि स्वार्थको भारीले थिच्दा नेम्वाङमाथि तनाव थपिएको थियो ।

चुनावमा तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङ पूरा प्यानल नै लिएर प्रतिस्पर्धामा उत्रिएका थिए । जहाँ शेर्पालाई पराजित गर्दै नेम्वाङले नेतृत्वमा कब्जा जमाए । तर उनको पूरा प्यानल विजयी भएन ।

चुनावमा उनलाई पूर्व अध्यक्षद्धय नरेन्द्र श्रेष्ठ र गणेश थापाको आर्शिवाद प्राप्त थियो । शेर्पालाई हराएर नेम्वाङ एन्फाको अध्यक्ष चुनिनुमा मुख्य भुमिका यिनै दुई पूर्वअध्यक्षबाट प्राप्त आर्शिवादको थियो । यही आधारमा नेम्वाङ प्यानलबाट निर्वाचित भएकामध्ये १० जना श्रेष्ठ र थापासँग नजिक हुनेहरु रहेको बताइन्छ । शेर्पा प्यानलबाट चुनाव जितेका सातमध्ये तीनले पनि केही एजेन्डामा तीनै १० जनालाई साथ दिएका छन् ।

चुनावी तालमेल र प्राप्त नतिजाले मिलेर जानुको विकल्प नदिए पनि एन्फा कार्यसमितिले फरक बाटो रोजेको छ । चुनाव सकिएको एक साता पनि नबित्दै नेम्वाङको नेतृत्वमा चुनावमा होमिएको समूहमा फुट आइसकेको थियो । नेतृत्वले जबरजस्ती प्रक्रिया नै नपुगेको बैठकबाट अवैधानिक तरिकाले महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्र जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमूखमा जर्मन नागरिक नवीन पाँडेलाई नियुक्त गरेको आरोप छ । यही कारण पूर्व अध्यक्ष श्रेष्ठ र थापाका निकटहरु नेम्वाङसँग टाढिएका छन् ।

तर एन्फा कार्यसमितिभित्रको अंकगणितमा सबभन्दा कमजोर रहे पनि नेम्वाङहरुले श्रेष्ठ र थापा पक्षका माग सुनुवाई नगर्ने रणनीति लिएको बताइएको छ । जर्मनीबाट पाँडेले नेम्वाङको रिमोट कन्ट्रोल चलाइरहेको आरोपका बीच नेतृत्वले श्रेष्ठ÷थापा पक्षले ल्याउन चाहेका गौरव थापा, सुरेश शाह, अरुणमान जोशी, दीनेश ब्यन्जनकार र राजेन्द्र न्यौपानेहरुको बाटोमा तगारो हालेको आरोप छ ।