यु २० साफ च्याम्पियनसिप

युवा टोलीमा देखिएको अनुवभको कमी

भुवनेश्वर । सुरुआती दुई खेलमा सानदार जित निकालेपछि नेपाली यु २० राष्ट्रिय फुटबल टिमले साफ च्याम्पियनसिपमा फाइनलको सपना देख्न थालिसकेको थियो । माल्दिभ्सविरुद्ध ४-० र श्रीलंकाविरुद्ध ३-० को जितपछि नेपालले तेस्रो खेलमा साविक विजेता भारतविरुद्ध खेल्ने तालिका थियो ।

तर, ओडिसाको कालिङ्गा रंगशालामा साउन १५ गते भारतविरुद्ध बिर्सनलायक प्रदर्शन गर्यो । समग्र खेलकुद र विशेष गरी फुटबलमै सधैँ बाधक बन्दै आएको भारतलाई फेरि एक पटक नेपालले ८-० गोलको फराकिलो नजिता सुम्पियो । जुन खेलसँगै नेपालको फाइनल खेल्ने सम्भावना निकै कठिन बनिसकेको थियो ।

पहिलो पटक यु २० को आधारमा भएको प्रतियोगितामा पाँच टोलीको सहभागी थिए । भुटान र पाकिस्तान सहभागी नभएको प्रतियोगिता सिंगल राउण्ड रोबिन पद्धतिमा सञ्चालित थियो ।

मंगलबार राति बंगलादेशसँग १-१ को बराबरीमा रोकिँदै शीर्ष दुईमा रहेको नेपाली टिम भारतले माल्दिभ्सलाई पराजित गरेसँगै तालिकाको तेस्रो स्थानमा झर्याे । भारतको त्यो जितसँगै नेपाल लगातार दोस्रो सिजन युथ टिमको फाइनल खेल्नबाट वञ्चित भयो ।

‘सुरुआती दुई खेल निकै राम्रो भएको थियो । सोही अनुसार भारतविरुद्ध हुन सकेन । अझ त्यो खेलमा हामी ठूलो अन्तरले हार्न पुग्यौं । कम गोल हुनुपर्ने थियो । रणनीतिक हिसावमा हामी अलि कमजोर भयौं ।  भारतसँग  खेल्दा अनुभव कमी देखियो र खेलाडी नर्मस भए,’ पहिलो संस्करणको साफ यु १९ च्याम्पियनसिपमा नेपाललाई उपाधि जिताएका प्रशिक्षक बालगोपाल महर्जन भन्छन् ।

करिब दुई महिनाको तयारीपछि नेपाली टिम भारतको ओडिसास्थित भुवनेश्वर पुगेको थियो । प्रशिक्षक मेघराज केसीले खुल्ला छनोटमा सहभागी करिब सात सय खेलाडीबाट २३ खेलाडीलाई कालिङ्गा रंगशालामा पुर्याएका थिए । अनुभवहिन युवा टोलीलाई उनले जति निखारे त्यो भने अपुग नै रह्यो ।

खुल्ला छनोटबाट आएका र राष्ट्रिय स्तरका प्रतियोगिता नै नखेलेका खेलाडीले त्यतिको प्रदर्शन दिनु ठूलो कुरा थियो । दैनिक अभ्यास अभाव, मैत्रीपूर्ण खेलको अभाव, अनुभवको कमीबीच नेपाली टिमको प्रदर्शन  भने औषत रह्यो । प्रतियोगितामा चार खेल खेलको नेपालले दुई खेलमा जित र एक खेलमा बराबरी गर्याे भने एक खेलमा हार बेहोर्याे ।

नेपाल राष्ट्रिय फुटबल टोलीलाई हेरिसकेका प्रशिक्षक महर्जन यु २० टोलीले अघिल्लो संस्करणको जस्तो अनुभव नपाउँदा पनि यतिको प्रर्दशन दिनुमा भने गर्व गर्छन् ।

‘अघिल्ला संस्करणका खेलाडी केहि नभए पनि २-४ वर्ष सँगै खेलेका हुन्थ्ये, क्लबमा खेल्थे । एकेडेमीका हुन्थ्ये । यसपटक त्यस्तो हुन सकेन । निरन्तर अभ्यास भएन । खुल्ला छनोटबाट आएका खेलाडीले यतिको खेल्नु पनि धेरै राम्रो हो,’ महर्जन भन्छन् ।

यस अघि सन् २०१५ मा सातदोबाटो स्थित एन्फा मैदानमा भएको प्रतियोगितामा नेपाली टिमको प्रशिक्षक थिए, बालगोपाल महर्जन । हाल राष्ट्रिय टोलीमा रहेका विमल घर्तिमगर, अनन्त तामाङ, तेज तामाङ, दिनेश राजवंशी, सुनिल बल लगायत एन्फा एकेडेमी खेलाडी सम्मिलित नेपाली टिमले फाइनल भारतलाई पराजित गर्दै उपाधि जित्यो । पहिलो संस्करणको फाइनलको निर्धारित समय १-१ को बराबरीमा सकियो र पेनाल्टी सुटआउटमा नेपालले भारतलाई ५-४ ले हरायो ।

दोस्रो संस्करण (सन् २०१७) यहि प्रतियोगिता यु १९ पद्धतिमा भयो । भुटानमा भएको प्रतियोगितामा समेत एन्फा एकेडेमीको खेलाडीको बाहुल्यता थियो । गोलरक्षक अर्पण कार्कीको कप्तानीमा नेपालले लगातार दोस्रो पटक उपाधि हात पार्याे । एन्फा एकेडेमीका अर्पणसँगै अभिषेक रिजाल, एरिक विष्ट, रेजिन सुब्बा, सुमन अर्याल, प्रिजेन तामाङ, अशिम भुषाल, सेसेहाङ आङ्देम्बे, विकास खवास, दिनेश हेम्जन, राजन गुरुङ, राम चन्द्र वाजी, राजिव लोप्चन लगायत खेलाडीलाई भुटान पुर्याएका प्रशिक्षक छिरिङ लोप्साङ घर फर्कदा उपाधि सहित आए ।

पुनः सन् २०१९ मा यु १८ को पद्धतिमा नेपालमै भएको प्रतियोगितामा भने नेपाल असफल भयो । प्रशिक्षक चेतनारायण श्रेष्ठको प्रशिक्षणमा नेपाल समूह चरणबाट अघि बढ्न सकेन । यस पटक भने नेपाली टिम मिसावट थियो । एन्फा एकेडेमी र बाहिरबाट छनोट गरिएको त्यसै प्रतियोगिताबाटै मनिष डांगीले नेपालको जर्सी लगाएका थिए ।

डांगीकै गोलका बाबजुद पहिलो खेलमा माल्दिभ्सँग हारबाट बचेको नेपाल दोस्रो खेलमा भने भुटानसँग ३-० ले स्तब्ध भएको थियो । एन्फा एकेडेमीका कप्तान जया गुरुङ, दर्शन गुरुङ, मनिष डांगी, नविन गुरुङ, गोलरक्षक विशाल सुनार, शिशिर लेखी, नितिन थापा, बृजेश चौधरी, विशाल बस्नेत लगायत खेलाडीले यस प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए ।

यस पटक भने प्रशिक्षक केसीले राष्ट्रिय टोलीबाट खेलिसकेका आयुष घलान र ए डिभिजन लिगमा औषत प्रदर्शन गरेका कृतिश रत्न छुन्जु मात्रै अनुभवी खेलाडी पाए । यस्तै, मनग्य नकर्मी, मोहित गुरुङ, गोलरक्षक इश्वर गुरुङ, दीपेश गुरुङले भने ए डिभिजन लिगमा समेत अनुवभ कम पाएन । यस्तै, अभिषेक वाइवा, सन्दीप कार्की, अजय चौधरी, डेनमार्कबाट आएका सुगम सुवान, अमर श्रेष्ठ, सुमित श्रेष्ठ, निराजन मल्लबाट भने केसीले आशा गरेको भन्दा बढि न्याय पाए ।

खेलकुदमा भन्ने गरिन्छ जित्दा सबै गल्तीलाई माफी र हार्दा सबै दोष केलाउने । यहि भयो नेपाली यु २० टिमलाई पनि । सुरुआती दुई खेल र बंगलादेशविरुद्ध प्रदर्शनमा खासै प्रश्न उठेन  । तर, भारतविरुद्ध हारमा भने युवा टोलीले विभिन्न आरोप खेप्नु पर्यो । आलोचना सुन्न पर्याे ।  बंगलादेशसँग बराबर र भारतले माल्दिभ्सलाई हराएपछि नेपालको फाइनल खेल्ने सपना अधुरै रह्यो ।