इङ्लिस प्रिमियर लिग

फोफाना र म्याडिसन बिक्रीमा छैननः रोजर्स

लन्डन । इङलिस प्रिमियर लिगको क्लब लेस्टर सिटीका  प्रशिक्षक ब्रेन्डन रोजर्सले विस्ले फोफाना र जेम्स म्याडिसनालई नबेच्ने बताएका छन् ।

नयाँ सिजन सुरु हुन एक साता भन्दा कम समय बाँकी रहँदा लेस्टरले अहिले सम्म कुनै पनि खेलाडी अनुबन्ध गरेको छैन । लेस्टरका प्रमुख खेलाडीहरुको अनुबन्धमा प्रिमियर लिगकै अन्य क्लब इच्छुक देखिदै आएका छन् ।

रक्षक फोफानाको अनुबन्धमा चेल्सी इच्छ्क देखिएको छ भने म्याडिसनका लागि न्युक्यासल युनाइटेडले इच्छा देखाएको छ ।

एन्टोनियो रुडिगर रियाल मड्रिड र आन्द्रियास क्रिस्टेनसेन बार्सिलोना गएपछि चेल्सी रक्षकको खोजीमा छ । चेल्सीले युभेन्टसका माटियास डी लिज्टलाई अनुबन्ध गर्न खोजे पनि उनी बायर्न म्युनिख गएका थिए भने ज्युल्स कोउन्डे बार्सिलोना गएका थिए ।

‘फोफाना उत्कृष्ट खेलाडी हुन्,’रोजर्सले भने, ‘उनलाई हामीले सरुवा बजारका लागि फुकुवा गरेका छैनौ । नयाँ सिजनका लागि उनी टोली रणनितीको प्रमुख पात्र  हुन् । हामीले नयाँ सिजनका लागि कुनै पनि खेलाडी अनुबन्ध गरेका छैनौ र हामी भएका खेलाडीलाई अन्यत्र जान दिने पक्षमा पनि छैनौ ।’

म्याडिसनका लागि न्युक्सालले गरेको ४० मिलियन पाउन्डको प्रस्ताव लेस्टरले अस्विकार गरेको थियो ।