नेपाल-भारतको खेलसँगै दशरथ रंगशालामा दर्शकसहितको खेल फर्कँदै

काठमाडौं, (खेलाडी)- माल्दिभ्सको मालेमा अर्को महिना हुने दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको तयारी गर्ने क्रममा नेपालले आज भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । 

साफ च्याम्पियनसिपको तयारीमा रहेका दुई टोलीबीच दोस्रो खेल आइतबार हुनेछ । दुवै खेल दशरथ रंगशालामा हुनेछ । 

भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलबाट दशरथ रंगशालामा दर्शकसहितको फुटबलले पनि पुनरागमन जनाउँदैछ । कोभिड १९ को महामारी सुरु भएपछि दशरथ रंगशालामा दर्शकसहित खेल भएको थिएन । 

तर आजको खेलका लागि भने नेपाल सरकारले सिमित संख्यामा दर्शक राखेर खेलाउन अनुमति दिएपछि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले ५ हजार १ सय टिकट बेच्ने तयारी गरेको छ ।

साँझ साढे पाँच बजे हुने खेलका लागि एन्फाले भिआइपी प्यारापिटतर्फको टिकटलाई २ हजार तथा सामान्य प्यारापिटको टिकटलाई १ हजार रुपैयाँ मुल्य तोकेको छ । 

नेपाल र भारतबिचको पहिलो मैत्रीपूर्ण खेल आज हुदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल अपरान्ह ५ः३० बजेबाट हुनेछ । यि दुई टोलीबिचको दोस्रो मैत्रीपूर्ण खेल २० गते आइतबार हुनेछ । 

नेपाल र भारतबीच अहिलेसम्म २० खेल भएका छन् । जसमा भारतले १३ खेल जितेको छ भने नेपालले तीन खेलमा जित हासिल गरेको छ । चार खेल बराबरीमा सकिएको छ । 

फिफा वरीयतामा भारत नेपालभन्दा निक्कै माथी छ । वरियतामा नेपाल १ सय ६८औं स्थानमा रहँदा भारत १ सय पाँचौं स्थानमा छ । 

नेपाल र भारतबीच पछिल्लो पटक २०१५ मा दशरथ रंगशालामै खेल भएको थियो । विश्वकप छनोट अन्तर्गतको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।