साफ यु २० च्याम्पियनसिप

सुखद सुरुआतको लक्ष्यमा नेपाल

काठमाडौं । नेपाल माल्दिभ्सविरुद्ध जितसहित  साफ यु २० च्याम्पियनसिपमा सुखद सुरुआत गर्न चाहन्छ । 

नेपाली यु २० पुरुष टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले तयारी पूरा भएको र उपाधि जित्नेमा विश्वस्त रहेको बताएका छन् । केसीले करिब दुई महिनाको प्रशिक्षण गरेकाले युवा टोलीबाट धेरै अपेक्षा रहेको बताए ।

‘नेपालमा मात्र नभई दक्षिण एसियामै उमेर समुहका खासै प्रतियोगिता भएको छैन,’ प्रशिक्षक केसीले भने, ‘अन्य टोलीमा पनि थुप्रै परिवर्तन भएको कारण प्रतिद्धन्दीका विषयमा खासै जानकारी छैन । तर हामी यहाँ जित्न आएका हौं ।’

कोभिड १९ को कारण दुई वर्षदेखि उमेर समूहका प्रतियोगिता नभएका कारण यो पटक खुला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको थियो ।

यसैगरी कप्तान आयुश घलानले प्रतियोगिताको लागि टिम तयार रहेको र तीन अंकका लागि खेल्ने बताए ।

भुवनेश्वरको कालिंगा रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो ४ः४५ बजे हुनेछ ।

यता माल्दिभ्सका मुख्य प्रशिक्षक अहमद शाकिरले नेपाली टोली नौलो भएकाले खेल्न कठिन भए पनि टिममा अधिकांश खेलाडी शीर्ष श्रेणीको लिग खेलिरहेको कारण नतिजा आफ्नो पक्षमा आउनेमा आशावादी रहेको बताए ।