जर्मन बुन्डेसलिगा

जिनाब्रीले गरे बायर्नमा सम्झौता नवीकरण

म्युनिख । सेर्ग जिनाब्रीले जर्मन च्याम्पियन बायर्न म्युनिखसँग २०२६ सम्मको लागि नयाँ सम्झौता गर्दै उनको सरुवाबारे बजारमा चलेका तमाम चर्चाहरुमा पूर्णविराम लगाएका छन् ।

जर्मनीका अन्तर्राष्ट्रिय खेलाडी जिनाब्रीले शनिबार बायर्नसँगै सम्झौता नवीकरण गरेको जर्मन बुन्डेसलिगाको महारथीले पुष्टी गरेको छ । जिनाब्रीलाई भित्र्याउने प्रयासमा रियाल मड्रिड, चेल्सी र उनको पूर्व क्लब आर्सनलले बायर्नसमक्ष प्रस्ताव गरेका थिए ।

जिनाब्रीसँग नयाँ सम्झौता गरेकै दिन बायर्नले टोलीका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले बार्सिलोनाका लागि म्युनिख छोड्ने पनि पुष्टी गरेको छ । स्पेनिस महारथीसँग लेवान्डोवस्कीको सरुवाका लागि सहमति भएको बायर्नले जनाएको छ ।

२०१७ मा बुन्डेसलिगाको प्रतिद्वन्द्वी वेर्डेर ब्रेम्यानबाट आएयता जिनाब्रीले बायर्नका लागि सबैखाले प्रतियोगितामा गरि एक सय ७१ खेलमा ६४ गोल गरेका छन् । म्युनिख बसाईको क्रममा २७ वर्षे विंगरले चार पटक बुन्डेसलिगा, दुई पटक डिएफबी पोकाल र एक् पटक च्याम्पियन्स लिग उपाधि जितेका छन् । क्लबको वेभसाइटमा प्रकासित समाचारमा जिनाब्रीले बायर्नबाट थप उपाधि जित्ने चाहना राखेका छन् । तर समाचारमा नयाँ सम्झौताको आर्थिक पक्ष खुलाइएको छैन ।

‘आगामी केही वर्षभित्रमा एउटा खेलाडीको हैसियतमा गर्नुपर्ने काम र हासिल गर्नुपर्ने उपलब्धिको विषयमा मैले केही सोचेको छु । यही सोचको क्रममा मैले बायर्नमै बस्ने निर्णय लिएको हुँ । यही क्लबबाट यसअघि जितेका सबै उपाधिहरु फेरि जित्न चाहन्छु । खासगरी म समर्थकका लागि फेरि च्याम्पियन्स लिग उपाधिको खुसी मनाउन चाहन्छु,’ जिनाब्रीलाई उधृत गर्दै बायर्नको वेभ साइटमा उल्लेख छ, ‘यही क्लबबाट मैले उच्च स्तरमा खेल्ने अवसर पाएँ । वास्तवमै बायर्न म्युनिख एउटा फरक खालको क्लब हो । यही क्लबबाट थप उपाधि जित्ने भोक अझै पनि उस्तै छ ।’

वितेको सिजनमा जिनाब्रीले बायर्नका लागि बुन्डेसलिगामा १४ गोल गरेका थिए । बायर्नका लागि उनीभन्दा बढि गोल लेवान्डोवस्की (३५)ले मात्र गरेका थिए ।