मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली काठमाडौंमा

काठमाडौं, (खेलाडी)- नेपालसँग दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्नका लागि भारतीय राष्ट्रिय फुटबल टोली सोमबार काठमाडौं आइपुगेको छ ।

माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतले त्यसैको लागि मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । नेपालविरुद्धको खेलका लागि भारतले कोलकातामा प्रशिक्षण गर्दै आएको थियो । भारतीय राष्ट्रिय टोलीले २००६ यता कोलकातामा अभ्यास सिविर राखेको यो पहिलो पटक हो । २००६ मा विश्वकप छनोटका लागि भारतीय टोली कोलकातामा बन्द प्रशिक्षणमा थियो ।

भारतीय टोलीका मुख्य प्रशिक्षक इगोर स्टिमेकले नेपालविरुद्धको खेलका लागि नियमित कप्तान सुनील क्षेत्रीको कप्तानीमा शुक्रबार २५ सदस्यीय टिम घोषणा गरेका थिए ।

भारतीय कप्तान सुनील क्षेत्रीले कोभिड १९ महामारीको बीचमा पनि मैत्रीपूर्ण खेल आयोजना गरेर आफूहरुलाई निम्त्याएकोमा एन्फा र नेपाल सरकारलाई धन्यवाद दिए । 

‘अहिले हाम्रो देशमा लिग छैन । दुईवटा टिममात्र एएफसीको प्रतियोगिताका लागि तयारीमा छन् । अरु सबै टिम आराममा छन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै क्षेत्रीले भने, ‘नेपाल कठिन प्रतिद्वन्द्वी हो । हामीले पहिला पनि खेलेका थियौं । अहिले कोभिडका कारण अत्यन्तै कठिन परिस्थितीमा हुँदा साफ च्याम्पियनसिपका लागि यो दुई मैत्रीपूर्ण खेलले हामीलाई धेरै सहयोग पुग्नेछ । हामी पूरा मेहनतका साथ आफ्नो तर्फबाट सतप्रतिसत दिएर मैत्रीपूर्ण खेलमा उत्रिनेछौं । त्यसपछि उपाधि जित्ने लक्ष्यसहित हामी साफ च्याम्पियनसिपका लागि माल्दिभ्स जानेछौं ।’

दशरथ रंगशालामा नेपालले भदौ १७ गते भारतलाई पहिलो खेलका लागि आतिथ्य प्रदान गर्नेछ भने दोस्रो खेल त्यसको तीन दिनपछि हुने तय भएको छ । 

साफ च्याम्पियनसिपका लागि झण्डै दुई महिना अघि देखि बन्द प्रशिक्षणमा रहेको नेपाली टोली पोखरामा १५ दिनको विशेष प्रशिक्षण सकेर आइतबार काठमाडौं फर्किएको थियो । 

माल्दिभ्सको राजधानी मालेमा आगामी असोज १५ देखि ३० गतेसम्म दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको ११औं संस्करण हुँदैछ । दक्षिण एसियाली फुटबलको सबभन्दा ठूलो यो प्रतियोगितामा नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन । 

१९९३ मा साफ कपको नाममा पाकिस्तानको लाहोरमा पहिलो पटक भएको प्रतियोगिताको दोस्रो संस्करण १९९५ मा श्रीलंकाको कोलम्बोमा सार्क ब्रिस्टल गोल्डकपको नाममा भएको थियो । 

साफ च्याम्पियनसिपको सुरुआत भने १९९७ मा नेपालबाट भएको थियो । त्यसयता नेपालले एक पटकमात्र प्रतियोगिता आयोजना गरेको छ । नेपालले पछिल्लो पटक २०१३ मा काठमाडौंमा प्रतियोगिताको आठौं संस्करण आयोजना गरेको थियो ।