कोहलीलाई इङल्यान्डका पूर्व कप्तान हुसेनको चेतावनी

लन्डन, (खेलाडी)- इङ्ल्यान्डका पूर्व कप्तान नासिर हुसेनले भारतीय कप्तान विराट कोहलीका लागि इङ्ल्यान्ड भ्रमणअन्तर्गत शृंखलाका बाँकी खेलमा समस्या थप हुने चेतावनी दिएका छन् । 

कोहलीले अत्यन्तै अनिश्चित तरिकाले सट खेलिरहेको बताउँदै शृंखला अगाडि बढ्दै जाने क्रममा उनको समस्या बढ्ने चेतावनी दिए । 

हुसेनका अनुसार स्विङ र सिम बलमा कोहली सहज देखिएका छैनन् । अनिश्चित भएर सट खेलिरहँदा उनको ब्याटमा एज लागेर बल पछाडि गइरहेको छ । 

इङ्ल्यान्डविरुद्ध जारी शृंखलाका पाँच वटै इनिङमा कोहली विकेटको पछाडि समातिएर आउट भएका थिए । त्यसमध्ये जेम्स एन्डरसन र ओली रोबिन्सनले उनलाई दुई/दुई पटक आउट गरेका थिए । 

हुसेनले डेली मेलको आफ्नो स्तम्भमा कोहलीलाई बलको लाइन अन्दाज गर्न अप्ठेरो भइरहेको विचार राखेका छन् । 

‘कोहलीले छोड्नुपर्ने बल खेलिरहेका छन् । उनको अन्दाज गर्ने क्षमतामा समस्या आएजस्तो देखिन्छ,’ हुसेनले लेखेका छन्, ‘ब्याकफुटको उनको पोजिसनमा पनि धेरै समस्या छ । उनले रोबिन्सन र एन्डरसनको बलमा सही लाइन पिक गर्न सकिरहेका छैनन् ।’