एन्फा निर्वाचन

एन्फा निर्वाचन उम्मेदवार परिचय: उपाध्यक्षका प्रत्याशी शर्मासँग छ युवा आकर्षित गर्ने योजना

काठमाडौं । नेपाली फुटबलको ‘होम’ दशरथ रंगशाला नजिकै छ, विज्ञानराज शर्माको घर । सानो हुँदा नजिकको रंगशालाले शर्मालाई तानिरहन्थ्यो । त्यहाँ हुने फुटबलले त झन् तान्ने नै भयो । त्यसैले घरबाट विद्यालय जान हिँडेका शर्मा रंगशालामा फुटबल खेलिरहेका भेटिन्थे ।

‘१४ वर्षको उमेरमै व्बाइज युनियन क्लबबाट ‘ए’ डिभिजन लिग खेल्ने मौका पाएँ,’ शर्मा भन्छन्, ‘०३५–०३६ सालमा हामी च्याम्पियन बन्दा मेरो टिममा श्याम थापा दाइ हुनुहुन्थ्यो, रूपकराज शर्मासँग पनि मैले फुटबल खेलें ।’

पढ्न पठाएको छोरो विद्यालय नै नगई खेलिरहेको भेट्दा उनले बुवाआमाको धेरै कुटाइ खाए । तर, उनको फुटबल मोह केही थप्पडले चटक्कै छुट्ने पनि त थिएन । फुटबल निरन्तर खेलिरहे । पढाइ छाडेर भागिरहे । उनको फुटबलप्रतिको लगावले फल पनि छिट्टै पायो ।

‘१४ वर्षको उमेरमै व्बाइज युनियन क्लबबाट ‘ए’ डिभिजन लिग खेल्ने मौका पाएँ,’ शर्मा भन्छन्, ‘०३५–०३६ सालमा हामी च्याम्पियन बन्दा मेरो टिममा श्याम थापा दाइ हुनुहुन्थ्यो, रूपकराज शर्मासँग पनि मैले फुटबल खेलें ।’

व्बाइज युनियन क्लबबाट करिब १५ वर्ष निरन्तर ‘ए’ डिभिजन लिग खेलेका शर्माले त्यही क्रममा राष्ट्रिय टिमसम्मको यात्रा पनि तय गरे । नेपालको प्रतिनिधित्व गरेर फुटबल खेल्दा मात्रै उनका निरास बुवाआमाको मुहारमा खुसी फर्किएको थियो ।

‘ब्वाइज युनियनबाट खेल्नेक्रममै राष्ट्रिय टिममा पुगें, करिब १० वर्ष मैले राष्ट्रिय टिमबाट खेलें । त्यसबेला चाहिँ मेरो बुवाआमा खुसी हुनुहुन्थ्यो,’ शर्मा भन्छन्, ‘म नेपालको प्रतिनिधित्व गरेर सन् १९८३ तिर भारतको पटनामा सन्जय गान्धी गोल्डकप खेल्न गएको थिएँ । त्यसपछि १९८७ मा चीनमा चाइना युथ कप खेल्न गएका थियौं । त्यसपछि एसियन गेम्स, विश्वकप छनोटहरू सबै स्तरमा खेलें ।’

खेल जीवन टुंग्याए पनि उनी पुलिसमा जागिरे थिए । फुटबलपछिको समय उनले प्रहरी सेवामै बिताए ।

‘अघिल्लो चुनाव लडिनँ तर ५ वर्षदेखि नभइरहेको लिग सञ्चालन गर्ने जिम्मेवारी मलाई आयो । र, मैले त्यो चुनौती पूरा गरें,’ शर्मा भन्छन्, ‘त्यसयता लगातार लिग कमिटी संयोजक भएर तीनवटा लिग सम्पन्न गरें ।’

‘म पुलिसको एआईजी भएर रिटायर्ड भएँ,’ शर्मा सुनाउँछन्, ‘बाल्यकालदेखि नै फुटबल खेलेको भएर फेरि फुटबलमै फर्किने तीव्र इच्छा लाग्यो । कुन स्तरमा म फुटबललाई योगदान गर्न सक्छु भन्ने विचार गरेर एन्फासँग आबद्ध भएँ । त्यतिबेला ‘चेन्ज एन्फा’को टिमसँग आबद्ध भएँ । तर, म चुनाव लडिनँ ।’

अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनमा भने शर्मा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । यसअघि लिग कमिटी संयोजकको भूमिका निभाइसकेका शर्मा यसपालि नेतृत्व गर्ने लक्ष्य लिएर चुनावी मैदानमा उत्रिएका हुन् ।

‘अघिल्लो चुनाव लडिनँ तर ५ वर्षदेखि नभइरहेको लिग सञ्चालन गर्ने जिम्मेवारी मलाई आयो । र, मैले त्यो चुनौती पूरा गरें,’ शर्मा भन्छन्, ‘त्यसयता लगातार लिग कमिटी संयोजक भएर तीनवटा लिग सम्पन्न गरें ।’

खेलाडीको रूपमा फुटबलमा गाँसिन पुगेका शर्मालाई फुटबल राजनीति बुझ्न पनि समय लाग्यो ।

‘म फुटबल खेलाडी भए पनि पछाडि बेग्लै पेसाबाट आएको मान्छे भएकाले एन्फाभित्रको कार्यशैली, राजनीति बुझ्न पनि मलाई समय नलागेको होइन,’ उनी भन्छन्, ‘केही बुझिसकेपछि उम्मेदवार हुनु राम्रो पनि हुने र सहज हुने मलाई लागेको हो ।’

नेपाली फुटबललाई केही योगदान गर्ने लक्ष्य लिएर नै आफू एन्फामा आएको शर्मा बताउँछन् ।

उपाध्यक्षका उम्मेदवार शर्मा नेतृत्वमा पुगेपछि इमान्दारिता र पारदर्शितालाई मूलमन्त्र बनाएर कार्य गर्ने उनको योजना छ ।

‘मार्केटिङ, टेलिभिजन राइटजस्ता विषयहरू फुटबलमा विकसित देशहरूको अवस्थाबाट हामीले सिकेर नेपालमा लागू गर्न सक्यौं भने एन्फालाई अझै बलियो बनाउन सकिन्छ,’ उनी भन्छन् ।

‘देशभरबाट ‘ट्यालेन्ट हन्ट’ गर्छु,’ शर्मा भन्छन्, ‘नेपालको फुटबलको अवस्था के छ भन्ने देशभर ‘बेसलाइन’ सर्भे गर्छु । मोफसलका क्लबहरूको अवस्था के छ ? उनीहरूलाई कसरी आर्थिक रूपमा सबल गराउन सकिन्छ भन्ने कुराको अध्ययन गर्छु ।’

यस्तै, खेलाडीको हकहितका लागि गर्न सकिने कुरामा ध्यान दिने र एन्फामा आर्थिक सबलीकरणका पक्षमा काम गर्ने उनको योजना छ ।

‘मार्केटिङ, टेलिभिजन राइटजस्ता विषयहरू फुटबलमा विकसित देशहरूको अवस्थाबाट हामीले सिकेर नेपालमा लागू गर्न सक्यौं भने एन्फालाई अझै बलियो बनाउन सकिन्छ,’ उनी भन्छन् ।

एन्फाको चुनावी सरगर्मी सुरु हुँदै गर्दा ‘अध्यक्षको प्रत्याशी शर्मा’ भन्ने चर्चा पनि नचलेको होइन । तर, अध्यक्षमा चुनाव लड्दा आफूले नजित्ने निश्चित भएको उनले बुझेका छन् ।

‘अध्यक्षमा म उम्मेदवार भएको भए कर्माजी नै हार्नुहुन्थ्यो,’ उनी भन्छन्, ‘म कर्मालाई हराउन चाहन्न । त्यसैले उहाँको प्यानलमा आएको हुँ ।’

‘कर्माको काम गर्ने केही शैलीमा असहमति राख्दा–राख्दै पनि उहाँमा भएको फुटबल विकास गर्ने प्यासनले मलाई आकर्षित गरेको छ,’ शर्मा भन्छन्, ‘उहाँ साथीहरूले सहयोग नगर्दा पनि कतिपय स्थानमा एक्लै हिँडिरहेका छन् । त्यो प्यासन र धेरै हदसम्म इमान्दारिताले गर्दा पनि म त्यो प्यानलमा आएको हुँ ।’

कर्मामाथि केही आरोप लागे पनि साबित नभएको उनी बताउँछन् ।

‘तर, सचिवालयलाई उहाँले व्यवस्थित गर्न सक्नुभएन,’ शर्माले सुनाए, ‘त्यो व्यवस्थित गर्नुभएन भने आगामी कार्यकालमा पनि उहाँलाई गाह्रो हुन्छ । त्यसैले आफ्नो सचिवालय व्यवस्थापन गर्नुपर्ने चुनौती छ ।’

निर्वाचित भएपछि कार्यसमिति बैठकमा आमन्त्रितको भूमिका जानु नपर्ने र अब राम्रो कुरालाई प्रोत्साहन र नराम्रो कुरालाई खबरदारी गर्न कुनै पनि बाधा नहुने उनको तर्क छ ।

नेपाल प्रहरीमा ३० सेवामा रहँदा बनाएको ‘इमेज’मा दाग लाग्ने डर शर्मालाई छैन । ‘हामी विषम ठाउँमा खेलेर आएको मान्छे, हिलोमा कमल फुल्छ, हिलोमै जाने हो, त्यहीं खेल्ने हो,’ शर्मा भन्छन्, ‘सकिएन भने छाडेर हिँड्ने हो ।’

एन्फामा हुने गलत काम रोक्न, खबरदारी गर्न नसके लुसुक्क होइन, हल्लाखल्ला गरेर छाड्ने शर्माको योजना छ ।

असार ६ (सोमबार) मा हुने चुनावमा आफूसहित प्यानल नै विजयी हुने विश्वास शर्मालाई छ । ‘जित्छु भन्ने विश्वास छ, साथीहरूको प्रतिक्रिया पनि राम्रो छ,’ उनी भन्छन्, ‘तर, मलाई जिते पनि हारे नि त्यति दुःख हुँदैन । म हारें भने पत्याएनन् भन्छु । जितें भने जिम्मेवारी छ भन्ने सोचर काम गर्छु ।’

पछिल्लो समय फुटबलले युवालाई आकर्षित गर्न नसकेको उनको बुझाइ छ । ‘पछिल्लो समय लागूपदार्थ दुव्र्यसनीमा कति युवा फसिरहेका छन्, इन्टरनेटको दुरुपयोगले युवामा ठूलो समस्या जन्माएको छ,’ शर्मा भन्छन्, ‘फुटबलले ती युवालाई आकर्षित गर्नुपर्छ । त्यस्तो कार्यक्रम लिएर एन्फाले फिल्डमा जानुपर्छ । मेरो योजना पनि त्यही हो ।’

असार ६ (सोमबार) मा हुने चुनावमा आफूसहित प्यानल नै विजयी हुने विश्वास शर्मालाई छ । ‘जित्छु भन्ने विश्वास छ, साथीहरूको प्रतिक्रिया पनि राम्रो छ,’ उनी भन्छन्, ‘तर, मलाई जिते पनि हारे नि त्यति दुःख हुँदैन । म हारें भने पत्याएनन् भन्छु । जितें भने जिम्मेवारी छ भन्ने सोचर काम गर्छु ।’