नेपाली फुटबल

नेपालको सुरुआती ११ सार्वजनिक, पुजन कप्तान, निरकुमार र शिवको ‘डेब्यु’

कुवेत सिटी । एएफसी एसियन कप २०२३ तेस्रो चरणको खेलमा इन्डोनेसियाविरुद्ध पुजन उपरकोटीले नेपाली राष्ट्रिय टिमको कप्तानी सम्हाल्ने भएका छन् ।

नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले यसअघिका कप्तान नवयुग श्रेष्ठलाई बेन्चमा राख्दै इन्डोनेसियाविरुद्ध सुरुआती ११ सार्वजनिक गरेको हुन् । प्रशिक्षकको पहिलो रोजाईमा पर्न सफल निरकुमार राई र शिव गुरुङले आजको खेलबाट राष्ट्रिय टिममा ‘डेब्यु’ गर्ने भएका छन् ।

निरकुमारले मनिष डांगीको स्थानमा मौका पाउँदा शिवले विकास खवासको स्थानमा मौका पाएका हुन् ।

प्रशिक्षक अल्मुताइरीले आजको खेलका लागि मनिष र विकाससँगै पछिल्लो खेलको ६ खेलाडीलाई बेन्चमा राखेका छन् ।

आजको खेलमा आयुश घलानको स्थानमा सुनिल बल, सेसेहाङ आङदेम्बेको स्थानमा सन्तोष तामाङ, कप्तान नवयुगको स्थानमा जर्जप्रिन्स कार्की, सुरजजिउ ठकुरीको स्थानमा एरिक बिष्ट र गौतम श्रेष्ठको स्थानमा राजन गुरुङलाई पहिलो रोजाईमा उतारेका छन् ।

छनोटको समूह ‘ए’ मा रहेको नेपाल यसअघि पहिलो खेलमा जोर्डनसँग २–० र दोस्रो खेलमा घरेलु टिम कुवेतसँग ४–१ ले पराजित भएको थियो ।

सुरुआती ११ः

दीप कार्की (गोलकिपर)

रक्षकः राजन गुरुङ, शिव गुरुङ, विकास तामाङ, सुमन अर्याल

मिडफिल्डरः निरकुमार राई, एरिक बिष्ट, पुजन उपरकोटी (कप्तान), सन्तोष तामाङ, सुनिल बल

स्ट्राइकरः जर्जप्रिन्स कार्की