हुम्ला, विकटता अनि फुटबल 


नेपालगन्ज, (खेलाडी)- कर्णाली प्रदेशको हुम्ला । 

यो ठाउँको नाम सुन्ने सबैको साझा बुझाइ हुने गर्छ, ‘भौगोलिक रूपमा अत्यन्तै विकट ।’

हो, हुम्ला भौगोलिक रूपमा विकट नै छ । सडक सञ्जालमा पछि परेको जिल्ला हो, हुम्ला । सडक सञ्जालमा सहज पहुँच नहुँदा यहाँको सामान्य जनजीवन पनि अत्यन्तै कठिन छ । मानव जीवनका आधारभूत आवश्यकता पनि हुम्लीहरूको पहुँचमा छैन ।

भौगोलिक रूपमा यस्तो विकट हुम्ला त्यही कारण अन्य क्षेत्रसँगै खेलकुदमा पछि छ । फुटबल र क्रिकेट जस्ता विश्वव्यापी रूपमै लोकप्रियता हासिल गरेका खेलमा पनि हुम्ली जनताको हैसियत टेलिभिजनमा हेर्ने सामान्य दर्शकमै सीमित थियो । 

आफ्नै जिल्लामा फुटबल खेल्नु हुम्ली जनताका लागि एउटा पूरा हुन नसक्ने सपनाजस्तै थियो । तर अहिले त्यो सपना यथार्थमा बदलिन थालेको छ । पछिल्लो केही समययता भौगोलिक रूपमा विकट हुम्ला फुटबलबाट चिनिन थालेको छ । त्यो पनि महामारीको यो असामन्य अवस्थामा । 

कोभिड १९ को प्रभाव कायम रहेका बेला सामान्य जनजीवनका अन्य गतिविधिसमेत ठप्प छन् । यस्तो कठिन परिस्थितिमा धेरै मानिसको जमघट हुने फुटबल जस्ता खेल त झनै बर्जित हुनु स्वाभाविक हो । 

अरू बेला सम्बन्धित खेल विकासको काममा सुतेरै समय बिताउने गरेका नेपाली खेलकुदका संघहरूलाई महामारीको यो समय व्यवस्थापनको क्षेत्रमा काम गर्न पर्याप्त समय थियो । तर अहिले खेल पदाधिकारीहरू राजनीति दाउपेचमा मस्त छन् । 

आफ्ना विपक्षीलाई कमजोर देखाएर नेतृत्वमा हत्याउने दाउपेचमा पदाधिकारी व्यस्त नभएको कुनै संघ छैन । क्रिकेट, भलिबल र एथलेटिक्ससँगै यस्तो आन्तरिक कलहमा फस्ने अग्रणी संस्थामा फुटबलको नाम सबभन्दा अगाडि छ । 

राजनीतिक तिकडम गरेर नेतृत्वमा पुगेको खेल नेतृत्वले वास्ता नगरे पनि जनस्तरमै केही उदाहरणीय काम हुन थालेका छन् । संक्रमणकालमा हुम्लामा पनि फुटबलको जग बसाल्न एउटा तारिफयोग्य सुरुआत भएको छ । 

हुम्ला फुटबल एकेडेमीले सुरू गरेको ‘ग्रासरूट’ प्रशिक्षण कार्यक्रम यस्तै तारिफयोग्य फुटबलकर्म हो । फुटबल एउटा खेलमात्र होइन । सामान्य नजरले हेर्दा यसलाई खेलको रूपमा मात्र देखिएला । तर यसको बहुआयामिक महत्व छ । त्यही रूपमा अन्तर्राष्ट्रियजगतले फुटबललाई लिन थालेको धेरै भइसक्यो ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष सेप ब्लाटरले नेपाल भ्रमणका क्रममा दशरथ रंगशालाको मञ्चबाट फुटबलको यही बहुआयामिक परिचयको बयान गर्दै भनेका थिए, ‘फुटबल एउटा खेल हो । तर यतिमात्र होइन । फुटबल भनेको भाइचारा हो । फुटबल भनेको शिक्षा हो । फुटबल भनेको संस्कार हो । फुटबल भनेको मनोरञ्जन हो । फुटबल व्यवसाय हो । विश्वलाई एकसूत्रमा बाँध्ने माध्यम हो ।’

हो, ब्लाटरले भनेजस्तै फुटबल समग्रमा जीवन जिउने कला हो । हिमाली जिल्ला हुम्लामा थालिएको यो प्रयासले त्यही भन्छ । आखिर फुटबलको माध्यमबाट हुम्ला फुटबल एकेडेमीले आफ्नो परिचय नयाँ र फराकिलो बनाउने प्रयासमा छ । 

तिब्बतसँग सिमाना जोडिएको कारण पर्यटन व्यवसायले हुम्लालाई कर्णालीको धनी जिल्लाको पहिचान दिएको छ । हिन्दुहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने मुख्यद्वार हुम्ला नै हो । हरेक वर्ष हजारौं पर्यटक हुम्ला हुँदै मानसरोवरको यात्राका लागि आउने गरेका छन् । 

हरेक वर्ष आउने हजारौं पर्यटकमार्फत हुम्लाको प्रवद्र्धनमा फुटबल पनि जोड्ने उद्देश्य एकेडेमीले लिएको छ । ‘हुम्ला आउने पर्यटकले यहाँको फुटबलको तारिफ गर्ने स्तरमा पु¥याउने अठोट लिएका छौं,’ हुम्ला फुटबल एकेडेमीका अध्यक्ष विष्णु रावत ‘ब्राभो’ भन्छन् । 

‘हुम्ला भौगोलिक रूपमा जति विकट छ, त्यति नै यहाँका सुन्दर पक्ष पनि लोभलाग्दा छन् । फुटबल खेल्न, प्रशिक्षण गर्न यहाँ सहज त छैन । तर हरेक महिना फुटबल प्रशिक्षण गर्ने हाम्रो प्रयास जारी रहनेछ,’ उनले थपे ।

हुम्लामा अहिले चाहिँ फुटबलको प्रशिक्षण हुन सकेको छैन । साउन १५ गतेदेखि सुरु भएको ग्रासरूट कार्यक्रम १९ दिनसम्म चल्यो । अहिले जिल्लामा मनाइने एउटा पर्वका लागि मैदान आवश्यक परेकाले प्रशिक्षण स्थगित गरिएको छ । 

प्रकृतिले साथ दिए फुटबलका गतिविधि वर्षैभर गर्ने योजना हुम्ला फुटबल एकेडेमीले बनाएको छ । ६ देखि १३ वर्ष उमेर समूहका १० जना छात्रबीच सुरु गरिएको प्रशिक्षण अभियानमा एकेडेमीसँग अहिले १ सय ७० पुरुष खेलाडी पुगिसकेका छन् । यसैगरी त्यही उमेर समूहका तीन छात्रा राखेर सुरु गरिएको एकेडेमीमा ७० जना छन् ।

हुम्ला फुटबल एकेडेमीको सक्रियता सानो उमेरका खेलाडीको प्रशिक्षणमा धेरै दिन सीमित हुन सकेन । ग्रासरूटको सफलतापछि सिनियर खेलाडीहरूबाट पनि प्रशिक्षणको व्यवस्था मिलाउन अनुरोध आउन थाल्यो । 

‘हामीले त्यसपछि सिनियरका लागि पनि नियमित प्रशिक्षणको व्यवस्था मिलायौं,’ एकेडेमीका अध्यक्ष रावतले खेलाडी डटकमसँग भने, ‘अहिले सिनियर टोलीमा पनि ५५ जना खेलाडी पुगिसकेका छन् । गरे हुँदोरहेछ भन्ने लाग्न थालेको छ । विकट ठाउँमा पनि भएको एउटा मैदानको हामीले उपयोग गरिरहेका छौं ।’

एकेडेमीको अभियानमा सुरूआती दिनमा हुम्लाकै स्थानीय मदन बुढथापाले प्रशिक्षकका रूपमा सघाए । अहिले स्थानीय प्रशिक्षक धिरज रोकाय, पवन रोकाय, विशाल रावत, उज्ज्वल रावतलगायतले प्रशिक्षणको जिम्मेवारी सम्हालिरहेका छन् । एन्फाबाट छिट्टै एक जना प्रशिक्षक पाउने आश्वासन मिलेको अध्यक्ष रावतले बताए ।

हिमाली क्षेत्रमा फुटबल खेलाउनु सहज छैन । कठिन भएकै कारण उत्तरी भेगमा फुटबलको संस्कृति विस्तार हुन सकिरहेको छैन । तर हुम्लाले भने भूगोल र प्रकृतिको विकटतामाथि चुनौती प्रस्तुत गर्दै जिल्लामा फुटबल संस्कार बसाल्ने अभियानमा चासो देखाएको छ । 

पक्कै पनि एकेडेमी स्थापनाले हुम्लालाई अहिले चर्चित बनाएको छ । एकेडेमीको कामको तारिफ भएको छ । तर एकेडेमी र हुम्ली युवाहरूका लागि आगामी दिन चुनौतीपूर्ण पनि छन् । हिमाली क्षेत्रमा जसोतसो एकेडेमी सुरु गरे पनि यसलाई निरन्तरता दिनु झन् कठिन हुने पक्का छ । 

‘चुस्त व्यवस्थापन र गतिलो आर्थिक स्रोतबिना फुटबलमा काम गर्न सकिन्न । हुम्ला एकेडेमीले आफूलाई व्यवस्थापनमा मात्र चुस्त बनाएर पर्याप्त हुने छैन । हिमाली भेगमा सुरु गरिएको यो प्रशंसनीय प्रयासलाई निरन्तरता दिन नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाको भूमिका पनि महत्वपूर्ण हुनेछ,’ कर्णालीका एक फुटबलकर्मी भन्छन्, ‘मैदानबाहिरको राजनीतिक दाउपेचमा धेरै समय खर्चने एन्फाका पदाधिकारीको नजर विकट हुम्लाको फुटबलमा कहिले पुग्ने हो ?’