वडा अध्यक्ष कप खुला भेट्रान फुटबल

वडा अध्यक्ष कप फुटबलको तयारी पूरा

काठमाडौं । प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजक चावहिल स्पोर्ट्स क्लबले बुधबार जनाएको छ । प्रतियोगिता बिहीबारदेखि चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा सुरु हुँदैछ ।

काठमाडौं महानगरपालिका वडा ७ को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा ४० वर्षमाथि उमेरसमूहका १५ पुरुष टिमको सहभागिता रहने प्रतियोगिता संयोजक केशर गोर्खालीले जानकारी दिए । त्यसमा मोफसलका २ टिम पनि छन् ।

प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष अजब श्रेष्ठले जानकारी गराए । उत्कृष्ट खेलाडी, डिफेन्डर र गोलरक्षक तथा उच्च गोलकर्तालाई जनही पाँच हजार रुपैयाँबाट पुरस्कृत गरिने छ । पहिलो दिन पाँच खेल खेलाइने छ । सिक्स ए साइड नकआउट प्रतियोगिताको फाइनल जेठ ३१ गते हुनेछ ।