च्याम्पियन्स लिग

मड्रिडलाई पेलेको बधाई

ब्रासिलिया । ब्राजिलियन लिजेन्ड पेलेले भिनिसियर जुनियर र कप्तान मार्सेलोको योगदानको तारिफ गर्दै च्याम्पियन्स लिगको उपाधि जितेकोमा बधाई दिएका छन् ।

शनिबार राति भएको च्याम्पियन्स लिगको फाइनलमा रियाल मड्रिडले लिभरपुललाई १–० गोलको नतिजामा हराउँदै आकर्षक जित निकालेको थियो । मड्रिड कीर्तिमानी १४औं पटक च्याम्पियन बनेको हो । जसलाई पेलेले ‘सुन्दर साहस’ को रुपमा बयान गरेका छन् ।

फाइनलमा निर्णायक गोलमार्फत मड्रिडलाई भिनिसियर जुनियरले च्याम्पियन बनाएका थिए ।

ब्राजिलियन विङ्गर जुनियरले यो सिजन च्याम्पियन्स लिगमा ६ गोल र चार असिस्ट गरे ।

सन् २००८–०९ मा अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीपछि (९ गोल, पाँच असिस्ट) जुनियरले २१ वर्षभन्दा मुनिको उमेर समूहमा सर्वाधिक १० गोल गर्ने दक्षिण अमेरिकाको पहिलो युवा खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भए ।

‘यसैकारण फुटबल विश्वमा नै प्रसिद्ध खेल बनेको छ । भिनिसियरले यो कीर्तिमानी खेलमा धेरै चुनौतीहरुलाई जितेका छन्,’ पेले लेख्छन्, ‘कप्तानको रुपमा च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो ब्राजिलियन खेलाडी बनेको देख्न पाउँदा मार्सेलोप्रति धेरै खुशी छु बधाई छ, रियाल मड्रिड । सुन्दर साहसिक खेल थियो ।’