इङ्लिस प्रिमियर लिग

बराबरीपछि पनि प्रिमियर लिग उपाधि होडमा सिटी बलियो

लन्डन । लिग लिडर म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगमा वेस्ट ह्यामसँग २–२ को बराबरीमा रोकिएको छ । बराबरीसँगै दोस्रो स्थानको लिभरपुलसँगको अंक दूरी बढाउने मौका गुमाएको सिटी लिग उपाधि होडमा भने अझै बलियो अवस्थामा छ ।

घरेलु मैदानमा वेस्ट ह्यामले २४औं मिनेटमा जेरोड वोवेनको गोलबाट अग्रता लिएको थियो । बोवेनले नै ३२औं मिनेटमा वेस्ट ह्यामको अग्रता दोब्बर पारेका थिए ।

खेलको ४९औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै वेस्ट ह्यामको अग्रता २–१ मा झारेका थिए । ६९औं मिनेटमा भ्लादिमिर कउफलबाट आत्मघाती गोल उपहार पाएपछि सिटी खेलमा फर्किएको थियो ।

खेल सकिन चार मिनेट बाँकी रहँदा सिटीले पेनाल्टीमा गोलको सुनौलो मौका चुकाएको थियो । सिटीका रियाद महारेज पेनाल्टीमा चुकेका थिए ।

लिगमा शीर्ष स्थानको सिटीले ३७ खेलबाट ९० अंक जोडेको छ । जुन एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको लिभरपुलको भन्दा चार अंक बढी हो ।

आजै भएको प्रिमियर लिगअन्तर्गका अन्य खेलमा लेस्टर सिटीले वाटफोर्डलाई ५–१ ले पराजित गर्दा एस्टोन भिल्ला र क्रिस्टल प्यालेस, लिड्स र ब्राइटन र वुल्भ्स र नर्विच सिटी १–१ को बराबरीमा रोकिए ।