सिरी ‘ए’

उपाधि संघारमा मिलान

मिलान । रोफेल लियो र थियो हर्नान्डेजको गोलमा एसी मिलान ११ वर्षपछि पहिलो पटक इटालियन सिरी ‘ए’ को उपाधि जित्ने संघारमा पुगेको छ । 

आइतबार मिलानले एट्लान्टालाई २-० ले हराउँदै उपाधि सम्भावना बलियो पारेको हो ।

५६औं मिनेटमा लियोले गरेको गोलमा मिलानले अग्रता लिएको थियो । ७५औं मिनेटमा हर्नान्डेजले मिलानको अग्रता दोब्बर पारेका थिए ।

मिलान ३७ खेलमा ८३ अंकसहित शीर्ष स्थानमा यथावत छ । जुन दोस्रो स्थानको इन्टर मिलान भन्दा दुई अंक बढी हो । उपाधि रक्षाको सम्भावना कायम राख्ने क्रममा इन्टरले काग्लियारीलाई ३-१ ले पराजित गरेको थियो ।

आगामी आइतबार अन्तिम खेलमा सासौलोविरुद्ध अंक बाँडे पनि मिलानले उपाधि पक्का गर्नेछ । 

मिलानले लिगमा आफ्नो अपराजित यात्रा १५ खेल सम्म कायम गरेको छ । मिलानले सन् २०११ पछि सिरी ‘ए’ को उपाधि जित्न सकेको छैन ।