एफए कप

लिभरपुललाई एफए कपको उपाधि

लन्डन । कोन्सटाटिनोस टिसिमिकासले पेनाल्टी सुटआउटमा निर्णायक गोल गरेसँगै लिभरपुलले शनिबार चेल्सीलाई ६-५ ले निराश पार्दै  एफए कपको उपाधि जितेको छ । 

चेल्सीमाथिको जितसँगै लिभरपुलले एकै सिजन चार उपाधि जित्ने कीर्तिमानको सम्भावना जीवित राखेको छ ।

 यसअघि फेब्रुअरीमा पनि चेल्सी इङलिस लिग कपको फाइनलमा लिभरपुलसँग पेनाल्टी सुटआउटमा ११-१० ले पराजित भएको थियो ।

योर्गान क्लोपको टोलीका लागि यो सिजनको दोस्रो उपाधि हो । क्लोपको टोलीले मे २८ मा रियाल मड्रिडविरुद्ध च्याम्पियन्स लिगको फाइनलमा प्रतिस्पर्धा गर्नेछ । इङलिस प्रिमियर लिगमा क्लोपको टोली अन्तिम दुई चरणका खेलहरु बाँकी रहँदा शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा मात्र तीन अंकले पछि छ ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयमा पनि दुवै टोलीले गोलरहित बराबरी खेलेपछि एफए कपको विजेताको टुङगो पेनाल्टी सुटआउटमार्फत लगाइएको हो ।

लिभरपुलका गोलकिपर एलिसनले चेल्सीबाट सातौं पेनाल्टी प्रहार गर्न आएका मेसन माउन्टको प्रहार विफल पारेका थिए ।

अतिरिक्त समयमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका टिसिमिकासले निर्णायक पेनाल्टीलाई सहजै जाली चुमाएका थिए ।

यसअघि चेल्सीका लागि पेनाल्टी सुटआउटमा मार्कोस ओलन्सो,रिस जेम्स,रोस बार्कले,हाकिम जियाच र जर्जिन्होले गोल गरे । दोस्रो पेनाल्टी प्रहारका लागि आएका सेसार एज्पिक्वेटा भने विफल भएका थिए । 

लिभरपुलका जेम्स मिल्नर, थियागोअलकान्ट्रा, रोबर्टो फिर्मिनो, ट्रेन्ड एलेक्सान्डर अर्लोल्ड, डिएगो जोटा र टिसिमिकासले गोल गरे भने साडियो मानेले गोल गर्न सकेनन् ।

पहिलो हाफमा स्ट्राइकर मोहम्मद सलाह चोटका कारण मैदानबाट बाहिरिनु भने लिभरपुलका लागि चिन्ताको विषय बनेको छ ।

लिभरपुलले सन् २००६ पछि पहिलो पटक एफए कपको उपाधि जितेको हो । क्लोपको टोलीले सन् २०००–२००१ पछि पहिलो पटक एकै सिजन लिग कप र एफए कपको उपाधि जितेको हो ।

लिभरपुलले मंगलबार प्रिमियर लिगमा साउथहमटनको सामना गर्नेछ । चेल्सीले भने बिहीबार लेस्टर सिटीलाई आतिथ्य गर्नेछ ।