नेपाली क्रिकेट

नेपाल र युगान्डाबीचको शृंखलामा दर्शक निशुल्क

काठमाडौं । नेपाल राष्ट्रिय महिला क्रिकेट टिम र युगान्डाबीचको पाँच खेलको ट्वान्टी २० शृंखला दर्शकहरुले निशुल्क हेर्न पाउने भएका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखलामा दर्शकले निशुल्क प्रवेश पाउने शनिवार नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको हो ।

नेपाली महिला टोलीले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न लागेको हो । यसैकारण दर्शकहरुलाई प्रोत्साहन गर्न प्रवेश निशुल्क गरिएको क्यानले जनाएको छ ।

शृंखलाका लागि नेपालले रुविना क्षेत्रीको कप्तानीमा १६ सदस्यीय टोली समेत घोषणा गरिसकेको छ ।

नेपालले जेठ दुई गते शृंखलाअन्तर्गतको पहिलो खेल खेल्नेछ । यस्तै, नेपालले तीन गते दोस्रो, पाँच गते तेस्रो, ६ गते चौथो र सात गते पाँचौ खेल खेल्नेछ ।