एसियन कप

एसियन कप चीनमा नहुने

काठमाडौं । अर्को वर्ष चीनमा हुने तय भएको एएफसी एसियन कप २०२३ कोभिड १९ महामारीका कारण अनिश्चित बनेको छ । चीनले नगर्ने निर्णय गरेसँगै प्रतियोगिता अर्को स्थानमा सर्ने सम्भावना बढेको छ ।

‘लगातार चलेको छलफलपछि चिनियाँ फुटबल संघले एसियाली फुटबल संघलाई आफूले एसिया कप आयोजना गर्न नसक्ने जानकारी दिएको छ । चीनले समयमै आफ्नो निर्णय सुनाएकाले एएफसीलाई नयाँ आयोजना स्थल खोज्न सहज हुनेछ । प्रतियोगिता आयोजनाका लागि चीनले भौतिक पूर्वाधार तयारीमा राम्रो प्रगति गरेको थियो । प्रतियोगिता आयोजनाका लागि चीनले जे जति तयारी गर्‍यो, त्यसका लागि हामी आभारी छौँ,’ एएफसीले जारी गरेको वक्तव्यमा भनिएको छ ।

एसियन कप आगामी जुन १६ देखि जुलाई १६ सम्म चीनका १० सहरमा हुने तय थियो । अब एएफसीले नयाँ आयोजक खोज्ने भनेको छ । तर यसबारे उसले विस्तृत जानकारी दिएको छैन । यसअघि सन् २०१९ मा चीनले प्रतियोगिताको आयोजना अधिकार पाएको थियो ।

नेपालले पनि एएफसी एसियन कपको लागि तेस्रो चरणको छनोट खेल्ने तालिका छ । जसका लागि हाल नेपाली टोली बन्द प्रशिक्षणमा छ ।

छनोटको समूह ‘ए’ मा रहेको नेपालसँगै इन्डोनिया, जोर्डन र कुवेत छन् ।