लक्ष्मण रुचाल

राष्ट्रिय फुटबल टिममा के को जात्रा हो ?

काठमाडौं । फुटबलर लक्ष्मण रुचालले राष्ट्रिय टिममा देखिएको 'कोच भर्सेज खेलाडी' विवादलाई लिएर सामाजिक सञ्जालमा प्रश्न उठाएका छन् । त्यसो त पछिल्लो समय प्राय फुटबलसँगै अन्य खेलका सरोकारवालाहरूले पनि यो विषयमा कुरा नउठाएका होइनन् । तर, फुटबलर रुचालले आक्रामक शैलीमा प्रस्तुत हुँदै अखिल नेपाल फुटबल संघ (एन्फा)ले जति सक्दो चाँडो समस्या समाधान गर्नुपर्ने माग राखेका छन् ।

'यो नेपाली राष्ट्रिय टिममा के जात्रा भैराको हो ? हो, हामीले कोचले भनेको सहि कुराहरू मान्नुपर्छ मैले पनि कुनैबेला कोचको प्रसंशा गरेर लेखेको छु । र, सहिलाई सहि र गलतलाई गलत भन्न सक्नुपर्छ । फुटबलमा जित्नको लागि कुनै कुरामा पनि कम्प्रमाइज हुँदैन । जित्नको लागि राम्रो प्रशिक्षणसँगै राम्रो सुत्न, खान र बस्न व्यवस्थित हुनैपर्छ,' रुचालले फेसबुकमा लेखेका छन्, 'फेरि, रोहितले राखेको माग आफ्नो लागि मात्र होइन । यो कुरा सबैले बुज्नु जुरुरी छ । रोहितले प्रशिक्षकसामु राखेको कुरा हो एन्फालाई सिधै गएर भनेको त होइन होला... नियमपालन गरेर नै माग गरेको होला.... मलाई रोहित नियम विपरीत गएको जस्तो लाग्दैन । फेरि रोहितको माग पछि अरुलाइ होटेलमा राख्ने रोहित र अन्य खेलाडीलाई घर पठाउने कस्तो कुरा हो बुज्न जरुरी छ ।'

यस्तो घटनाले खेलाडीलाई ठेस पुग्ने बताउँदै यतिका विषयहरू बाहिर आउँदा पनि सबै खेलाडीले खुलेर बोल्न नसकेकोमा दु:ख लागेको उनले बताएका छन् ।

'के यत्रो वर्ष देशको लागि खेलेको खेलाडीले पाउने इज्जत यहि हो त ? कतै खेलाडीहरूलाई राजनीतिमा सम्लग्न गराइएको त होइन ? प्रश्न धेरै छन् । होइन भने रोहितले उठाएको कुरामा किन रोहित चन्द र १० जना खेलाडी मात्र दोषी ? यति हुँदा पनि हाम्रो अरु खेलाडीहरू खुलेर बोल्न नसक्दा दु:ख लाग्छ,' उनले लेखेका छन्, 'स्वार्थी सन्सार देखेर पनि अचम्म लाग्छ आफू भलो त जगतै भलो जस्तो । सामजिक संजालमा धेरै कुरा नबुजिकन आएका नकारात्मक टिप्पणीहरूले रोहितसँगै अरु खेलाडीहरूलाई ठूलो असर गर्छ । त्यसैले यो विषयलाई एन्फाले छिटो भन्दा छिटो समस्याको समाधान गराई खेलमा फर्कन सहयोग गर्नुपर्छ जस्तो लाग्छ मलाई । आदरणीय खेलाडीसाथी भाइहरू यो समय खेलाडीहरुको भबिस्यको लागि अवाज उठाउने बेला हो कृपया मौन नभैदिनु होला ।'

गत बुधबार राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिएका नौ खेलाडीले पत्रकार सम्मेलन गर्दै प्रशिक्षक अल्मुताइरीको व्यहारबाट आजित भएको र आफूहरुले जायज माग राख्दा समेत प्रशिक्षण छोडेर जान भनेकाले कठिन कदम उठाएको बताएका थिए ।

सो विवादपछि पनि अल्मुताइरीले १७ खेलाडी थप गर्दै राष्ट्रिय टोलीको प्रशिक्षणलाई निरन्तरता दिएका छन् । एन्फालाई लेखेको पत्रमा अल्मुताइरीले खेलाडीले आफूमाथि लगाएको आरोपले दु:खी बनाएको बताएका छन् ।

‘पछिल्लो समयमा राष्ट्रिय टोलीमा जुन घटना घट्यो त्यसबाट म दु:खी छु,’ अल्मुताइरीले लेखेका छन्, केही खेलाडीले सार्वजनिक रूपमै ममाथि आरोप लगाएका छन् । मैले सँधै नेपाली फुटबलको विकासका लागि राम्रो काम गरे जस्तो लाग्छ र म यो जिम्मेवारीलाई निरन्तरता  दिन चाहन्छु ।'

अल्मुताइरीले ती खेलाडीहरुलाई आफूले माफी दिएको र उनीहरुलाई कारबाही नगर्न समेत एन्फा समक्ष आग्रह गरेका छन् ।