एन्फा चुनाव

चितवन जिल्ला फुटबल संघको अध्यक्षमा कार्की नै सर्वसम्मत

काठमाडौं । जिल्ला फुटबल संघ चितवनको अध्यक्षमा पुन: श्रीकृष्ण कार्की सर्वसम्मत चयन भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय निर्वाचन नजिकिँदै गर्दा प्रतिनिधि छनोट र जिल्लामा नयाँ कार्यसमितिका लागि आज अन्तिम दिन हो ।

यसै क्रममा शनिबार भएको चितवन जिल्ला फुटबल संघको छैटौं अधिवेशनले कार्कीलाई नै अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा अनिल शाक्य, विजय घले र विनोद लामा निर्वाचित भएका छन् । यस्तै सदस्यमा दिपक गुरुङ, लाल सिंह गुरुङ, शम्भु विक, रणबहादुर घले, नविन बस्याल, वरुण बस्नेत, अरुणराज वन्त, प्रेमबहादुर गुरुङ, ध्रुव भुसाल, शकुन्तला खड्का र कृष्णबहादुर कार्की चयन भएका छन् ।

नयाँ कार्यसमितिको आजै सम्पन्न पहिलो बैठले महासचिव र कोषाध्यक्ष मनोनित गरेको छ । संघका अध्यक्ष कार्कीले महासचिवमा रामहरि ढकाल र कोषाध्यक्षमा प्रविण जोशीलाई मनोनित गरेका हुन् ।

एन्फाको केन्द्रिय निर्वाचनमा ४८ वटामध्ये ४५ वटा जिल्ला संघ मताधिकार प्राप्त छन् ।

१४ वटा ए डिभिजन क्लब, १४ मध्ये ११ बी डिभिजन क्लब र १४ मध्ये ९ वटा सी डिभिजन लिगका क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएर दुई वर्षदेखि खेल्न नपाइरहेका मोफसलका चार क्लबले भोट हाल्न पाउनेछन् । एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते हुने तय भएको छ ।