विवाइसी महिला गोल्डकप

मुख्यमन्त्री विवाइसी महिला गोल्डकपः आयोजक वनदेवी सेमिफाइनलमा

धनगढी । आयोजक वनदेवी युवा क्लब धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलमा पुगेको छ । मंगलबार चौथो दिन धनगढी रंगशालामा भएको खेलमा कालिका स्पोर्टस एकेडेमीलाई २–० ले हराउँदै आयोजक वनदेवी अन्तिम चारमा पुगेको हो ।

वनदेवीलाई सेमिफाइनलमा पुराउनका लागि चन्द्रा भण्डारीले दुबै गोल गरिन् । पहिलो हाफको छैटाैं मिनेटमा उनले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाइन् । खेलको निर्धारित समय सकिनुभन्दा एक मिनेट अगाडीसम्म एक गोलको अग्रतामा रहेको वनदेवीका लागि चन्द्राले नै खेलको ८९औं मिनेटमा अर्को गोल थपिन् । सेमिफाइनलमा वनदेवीले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी वनदेवीकी चन्द्रा प्लेयर अफ द म्याच भइन् । उनले नगद ५ हजारसहित ट्रफी पाइन् । वनदेवी युवा क्लबको आयोजनमा भइरहेको प्रतियोगिताअन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेल हुनेछ । पहिलो सेमिफाइनल खेलमा विभागीय टोलीहरु एपिएफ र नेपाल आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन् । बिहीबार दोस्रो सेमिफाइनल खेल हुनेछ । बिहीबारको सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् । 

वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीयसहित ८ टिमको सहभागिता रहेको छ । प्रतियाेगिताको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ ।

प्रतियोगितामा प्लेअर अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए । धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको मुख्य प्रवर्धकमा सुप प्रदेश खेलकुद परिषद् रहेको छ ।