एएफसी कप

पहिलो हाफमा मछिन्द्र २–० ले पछि

काठमाडौं । एएफसी कप २०२२ छनोटको पहिलो चरणमा श्रीलंकन टोली ब्लु स्टार क्लबविरुद्ध मछिन्द्र फुटबल क्लब पहिलो हाफमा २–० ले पछि परेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको २४औं मिनेटमा मोहम्मद इसानले ब्लु स्टारलाई अग्रता दिलाए । मोहम्मद फजलले क्विक फ्रिकिक प्ले गर्दै इसानलाई बल दिएका थिए । जसमा इसालने कुनै गल्ती गरेनन् ।

२८औं मिनेटमा सेनल सन्देशले घरेलु टोलीविरुद्धको अग्रता दोब्बर पारे । मध्यभागबाट आएको बलमा सन्देशले रन्जित धिमाललाई बिट गर्दै १८ यार्ड बक्सको बायाँतर्फबाट सहजै जाली दिशा दिए ।

त्यसअघि नवौं मिनेटमा नुर्लान नोभ्रुजोभले गोलको सुनौलो मौका खेर फाले । मैदानको मध्यभागबाट विमल घर्तिमगरले निकालेको पासमा नुर्लानले वान अन वानमा गरेको प्रहार सेकेन्ड बारको नजिकैबाट बाहिरियो ।

१५औं मिनेटमा ब्लु स्टारले पाएको पेनाल्टी रोक्दै गोलकिपर विशाल श्रेष्ठले मछिन्द्रको ठुलो संकट टारे । डिफेन्डर ओमोलाजा करिमले सेनल सन्देशमाथि पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि ब्लु स्टारले पेनाल्टी पाएको थियो । ब्लु स्टारका जेरी ओमबेबेले दाहिनेतर्फ गरेको प्रहार विशालले पन्च गरिदिए ।

आजको खेल जित्ने टोलीले दोस्रो चरणमा भारतीय टोली एटिके मोहन बगानसँग प्रतिस्पर्धा गर्नेछ ।