राष्ट्रिय महिला लिग

ललितपुरमाथि विराटनगरको सहज जित

काठमाडौं । विराटनगर महानगरपालिकाले आइतबार राष्ट्रिय महिला लिगको चौथो चरणमा ललितपुर महानगरपालिकामाथि ५-१ को सहज जित निकालेको छ ।

चितवनको भरतपुरमा सम्पन्न खेलमा विराटनगरको जितमा मिना खातुन, सदिपा भोलन, अस्मिता चौधरी, इमा राई र मनिसा थापा मगरले समान एक गोल गरे ।

खेलको आठौं मिनेटमा इमाको गोलबाट विराटनगरले अग्रता बनाएकाे थियाे । ३५औं मिनेटमा मनिसाले विराटनगरको अग्रता दोब्बर बनाइन् । यस्तै, ५६औं मिनेटमा सदिपाले, ७९औं मिनेटमा अस्मिता र ८७औं मिनेटमा मिनाले गोल गर्दै विराटनगरको सहज जित पक्का गरे ।

ललितपुरको लागि ४७औं मिनेटमा सृजना सिहले  सान्त्वना गोल फर्काएकी थिइन्।

जितसँगै चार खेलमध्ये दुईमा जित, एक बराबर र एक खेलमा पराजय बेहाेरेकाे विराटनगर सात अंकसहित लिग तालिकाको चौथो स्थानमा छ । समान खेलबाट एक जित र तीन खेलमा हारसहित तीन अंक जोडेकाे ललितपुर छैटौं स्थानमा छ ।

साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लब १२अंकसहित लिग तालिकाको शिर्ष स्थानमा छ ।