इङ्लिस प्रिमियर लिग

टोटनहम चौथो स्थानमा उक्लियो

लन्डन । ह्युङ मिन सनले एक गोल गर्नुका साथै अर्को एक गोलका लागि पास उपब्ध गराएको खेलमा टोटनहम आइतबार न्युक्यासल युनाइटेडमाथि ५-१ को प्रभावशाली जितसहित इङ्लिस प्रिमियर लिगको चौथौ स्थानमा उक्लिएको छ ।

३० खेलमा ५४ अंक बटुलेको टोटनहम चौथो स्थानमा उक्लिएको हो । पाँचौ स्थानको आर्सनलको पनि ५४ अंक छ । यद्धपी आर्सनलले टोटनहम भन्दा दुई खेल कम खेलेको छ ।

३९औं मिनेटमा फाबियाना साचारको फ्रिकिक गोलमा न्युक्यासलले अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि नै टोटनहम खेलमा फर्कियो । सनको क्रसमा बेन डेभिसले गोल गरेका थिए ।

४८औं मिनेटमा म्याट डोहेर्टेको गोलमा टोटनहमले अग्रता लियो । त्यसको ६ मिनेटपछि सनले गरेको गोलमा टोटहमले ३-१ को अग्रता लियो ।

६३औं मिनेटमा इमर्सन रोयल बललाई जाली चुमाएपछि टोटनहम फराकिलो जिततर्फ अघि बढेको थियो । खेल सकिन सात मिनेट बाँकी रहँदा स्टेभिन बर्जविनले टोटनहमका लागि पाँचौ गोल गरे ।

प्रिमियर लिगअन्तर्गत आइतबार भएको अर्को खेलमा वेस्ट हम युनाइटेडले एभर्टनमाथि २-१ को जित निकालेको थियो ।