प्रतिभा वर्ष सम्मान

प्रा.डा. सुवेदी र क्रिकेटर मल्ललाई ‘प्रतिभा सम्मान’

पोखरा । साहित्यकार प्राध्यापक डा. अभि सुवेदी र नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई पोखरामा सम्मान गरिएको छ ।

पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले वर्षेनी प्रदान गर्दै आएको ‘प्रतिभा वर्ष सम्मान’ कार्यक्रमअन्तर्गत यस वर्ष सुबेदीलाई ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान–२०७८’बाट र नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई ‘प्रतिभा वर्ष सम्मान– २०७८’ बाट सम्मानित गरिएको हो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नारायणप्रसाद पौडेल, विद्यालयका प्रबन्ध निर्देशक बलबहादुर थापा, सञ्चालक डा. राजेन्द्र चापागाईं, विद्यालयका प्राचार्य विश्वगोपाल पराजुली, निर्देशक किरण सापकोटालगायतले प्रा.डा.सुवेदी र क्रिकेटर मल्ललाई जनही एक लाखसहित ताम्रपत्र, खादा, माला र अविर लगाएर सम्मान गरे ।

प्रा.डा. सुवेदीले झण्डै ६० वर्षदेखि कला र साहित्य तथा शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरिएको विद्यालयले जनाएको छ ।

क्रिकेट खेलमा पुर्याएको विशिष्ट योगदानको कदर स्वरुप मल्ललाई सम्मान गरिएको विद्यालयले जनाएको छ । यसअघि, युवा क्रिकेटर सन्दीप लामिछाने, राष्ट्रिय भलिबलकी कप्तान अरुणा शाहीलाई सम्मानित बनिसकेका छन् ।

यस्तै, एचआइभी संक्रमित भएर पनि सबैको प्रेरणाका श्रोत बनेका सगरमाथा आरोही गोपाल श्रेष्ठलाई पनि विद्यालयले सम्मान गरिसकेको छ ।

विद्यालयले सोहि विद्यालयकी छात्रा सीमा केसीलाई ‘प्रतिभा रत्न सम्मान–२०७८’बाट सम्मान गरेको छ । ‘वल्र्ड इकोनोमिक कप’ मा काश्य पदक जितेकी उनलाई विद्यालयले ‘प्रतिभा रत्न सम्मान–२०७८’ बाट सम्मान गरेको हो । यस्तै, नेशनल इकोनोमिक्स ओलम्पियाडमा गण्डकी प्रदेशबाट छनौट हुन सफल कुमार बराललाई पनि सम्मान गरेको छ ।