यु १८महिला साफ च्याम्पियनसिप

अग्रता जोगाउन नसक्दा नेपाल यु १८ महिला साफ च्याम्पियनसिपमा जितविहिन

जम्सेदपुर । अन्तिम खेलमा सुरुआती अग्रतालाई जोगाउन नसक्दा बंगलादेशविद्ध २–१ ले पराजित भएसँगै नेपाल यु १८ महिला साफ च्याम्पियनसिपमा नेपाल जितविहिन बनेको छ ।

च्याम्पियनसिपको अन्तिम खेलमा बंगलादेशविरुद्ध खेलको पाँचौ मिनेटमा नेपालले अग्रता लिए पनि नेपालले त्यसलाई अन्तिम समयसम्म कायम राख्न सकेन । नेपालकी अमिशा कार्कीले गाेल गरेकी थिइन् ।

बंगलादेशकी कप्तान साम्स सुनाहारले ६८औं मिनेटमा हेडर गोल गर्दै टोलीलाई खेलमा फर्काएकी थिइन् । यस्तै, ८४औं मिनेटमा साहदा अख्तर रिपाले गोल गर्दै बंगादेशको उपाधि सम्भावनालाई जिवित राखिन् ।

नेपाल यसअघि प्रतियोगिताको पहिलो खेलमा भारतसँग ७–० ले, दोस्रो खेलमा बंगलादेशसँग ४–२ ले र तेस्रो खेलमा भारतसँग पुनः ५–१ ले पराजित भएको थियो ।

प्रतियोगिताबाट नेपाल अंकविहिन बन्दै बाहिरिएको छ । तालिकाको शीर्ष स्थानमा रहेको भारतले तीन खेलबाट नौ अंक जोड्दा बंगलादेशले समान खेलबाट ६ अंक जोडेको छ ।

डबल राउन्ड रोविन लिग पद्दतीमा भइरहेको प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले च्याम्पियनसिपको उपाधि जित्नेछ ।